समाचार प्रभाव : अबैध रुपमा उत्खनन् गरीएको नदीजन्य बस्तु लिलामीको प्रक्रियामा

  • ३० जेष्ठ २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2299 पटक पढिएको

म्याग्दी ३० बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा अबैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु जफत गरेर लिलामी प्रक्रियामा लगीएको छ । नगरपालीका र समन्वय समितिसंग अनुमतीनै नलिई सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर बिक्री बितरण गर्ने उद्देश्यले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेका थिए ।

अनुगमनको क्रममा उत्खनन् गरीएको बालुवा ट्याक्टरमा राखेर बजार पठाउदै गरेको पाइएपछि जफत गरेर लिलामीको प्रक्रिया अघि बढाउन नगरपालीकालाई जिम्मा लगाइएको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो । ढुवानीमा प्रयोग भएको ट्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना समेत तिराइएको छ ।

चैत अन्तिम साता र बैशाख ५ गते प्रहरीले नदीजन्य पदार्थको अबैध उत्खनन्मा प्रयोग भएका उपकरण जफत गरेर जिससमा बुझाएपनी नितीगत अस्पष्टताको कारण देखाउदै राजनितिक दवावमा पुन उत्खनन् नगर्ने सहमती गराएर छाडेको थियो । कल्वका पदाधीकारीले नदीजन्य पदार्थको उत्खनन् गरेकोमा गल्ती स्विकार गर्दै अब उत्खनन् नगर्ने लिखित प्रतिवद्धता विपरीत नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको स्थानीयबासीले गुनासो गरेका थिए ।

कल्वका अध्यक्ष लालबहादुर थापा माईकलले आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि आयस्रोत जुटाउन ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरीएको बताउनुभयो । पाँच लाख रुपैयामा बिनोद हमाललाई ठेक्कामा दिएको कल्वका पदाधीकारीले बताएका छ्न । स्थानीयबासीको बिरोध र दवावका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन् । आनन्दबगरमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् र चोरी निकासी भएको विषयमा पटक पटक सञ्चार माध्यमहरुमा समाचार प्रकाशन प्रशारण भएको थियो ।

उच्च अदालत पोखराको बागलुङ ईजलासले यसै हप्ता नदीको प्राकृतिक स्वरुप र धार परिवर्तन गरी नदीजन्य बस्तुको उत्खनन् गर्दा तटीय क्षेत्रका बस्ती कटानको जोखिम र वातावरणमा असर परेको ठहर गर्दै उत्खनन् रोक्न स्थानीय तहहरुका नाममा निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ ।

सन्तोष गौतम