डाडाँगाउँको वडा कार्यालयमा पूर्वाधार र जनशक्ति अभाव

  • ३० जेष्ठ २०७५, बुधबार
  • सन्तोष गौतम
  • 1997 पटक पढिएको

डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ डाडाँगाउँको वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारी बसेर काम गर्ने फर्नीचरको व्यवस्था हुन सकेको छैन् ।

कच्ची भवन चुहिने समस्या छ । दुई वटा कुर्ची, एउटा टेबल र एउटा दराज मात्रै छ । जनप्रतिनिधि र सेवाग्राही बस्ने कुर्ची लगायतका फर्नीचरको ब्यवस्था हुन सकेको छैन् । भवनको र जनशक्तिको व्यवस्थापन नहुँदा काम गर्न अप्ठ्यारो भएको वडा अध्यक्ष हेमबहादुर पुनले बताउनुभयो । खुल्ला चौरमै बैठक, भेला, कार्यक्रम गर्नुपर्ने बाध्यता छ । वडामा सचिव पनी छैनन् । मालिका गाउँपालीकाको २, ३ र ४ नम्बर वडाको सचिवको रुपमा रमाकान्त घिमीरेले काम गर्दै आउनुभएको छ ।

जनशक्ति र कार्यालयको व्यवस्थापन नहुँदा जनताले सेवा प्रवाहका क्रममा स्थानीय तह र जनप्रतिनिधि भएको महशुश गर्न नपाएको गुनासो गरेका छन् । भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने ३ नम्बर वडाको बस्ती छरीएको छ । सचिवको काम समेत आफैले गर्नुपरेको वडा अध्यक्ष पुनले बताउनुभयो । सामाजिक परिचालक र कार्यालय सहयोगीको भरमा कार्यालय चलाउनु परेको गुनासो डाँडागाउँका जनप्रतिनिधिको छ । योजना तर्जुमा देखि दैनिक प्रशासनीक काम जनप्रतिनिधिलेनै गर्नुपर्ने बाध्यता छ ।

मालीका गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले दरबन्दि अनुसारका कर्मचारी अभावका कारण अन्य वडाको पनी सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । किटीनीमा निजी घर भाडामा लिएर व्यवस्थित रुपमा कार्यालय सञ्चालन गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।अनुगमनका क्रममा हालै डाडाँगाउँमा पुग्नुभएका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले कार्यालय र जनशक्तिको व्यवस्थापनमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति मार्फत सिफारीस गरिएको उहाँहरुले बताउनुभयो ।

डाडागाउँ राज्य पुनसंरचना अघि तत्कालीन रुम गाविसमा समावेश थियो । डाँडागाउँ, अदिभारा, किटेनी, औला, पात्ले, ईग्रे गाउँलाई समेटेर बनाइएको मालीका ३ नम्बर वडामा पाँच सय भन्दा बढी घरधुरी छन् ।

सन्तोष गौतम