म्याग्दीका गाउँगाउँमा सञ्चालित एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत (फोटोफिचर)

  • ३० जेष्ठ २०७५, बुधबार
  • प्रताप बानियाँ
  • 3100 पटक पढिएको

म्याग्दी, जेठ ३० । जिल्लाको दुर्गम तथा विकट वस्तीका स्थानीयबासिन्दालाई लक्षित गरेर सञ्चालन भएको एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत मिलेको छ । सदरमुकामसम्म पुगेर सरकारी सेवासुविधा लिन नसक्ने स्थानीयलाई घरदैलोमै सेवा प्रवाह हुँदा उनीहरुलाई सहज भएको हो ।


जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाई र स्थानीय तहको समन्वयमा जिल्लाको विभिन्न स्थानमा सञ्चालित घुम्ती शिविरले सर्वसाधारणलाई सहयोग पुगेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर, पश्चिम म्याग्दीको मालिकाको दरबाङ र मंगलाको बरंजामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा स्थानीय बासिन्दालाई राहत मिलेको छ ।


यसैक्रममा मङ्गलबार जिल्ला प्रशासन कार्यालय र मंगला गाउँपालिकाको आयोजनामा ३ र ४ नम्बर वडालाई लक्षित गरेर बराङ्जामा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । महेन्द्ररत्न माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण, स्त्रीरोग तथा प्रसुती सेवा परीक्षण, अपाङ्गता तथा ज्येष्ठनागरिक परिचयपत्र उपलब्ध, कृषि तथा पशु, लघुउद्यम, उद्योग व्यवसाय दर्ता, जग्गा तथा नापीसम्बन्धी सुविधासहित परामर्श सेवा प्रवाह गरिएको थियो । शिविरमा स्वास्थ्य बिमा बोर्डमार्फत स्वास्थ्य बिमाको विषयमा पनि जानकारी गराइएको छ ।


शिविरका क्रममा जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत कुल ६८ ओटा नेपाली नागरिकताको प्रमाणपत्रहरु वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले बताए । यसैगरी प्रदेश नम्बर ४ को सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित महिलाको पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २०१ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराउनुका साथै परामर्श सेवा लिएका छन् । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको छ ।  त्यस्तै जिल्ला पशु सेवा कार्यालयमार्फत १४२ जना सेवाग्राहीको ७०८ पशुको उपचार तथा ४४ ओटाको गोबर परीक्षण गरिएको छ ।

महिला तथा बालबालिका कार्यालयले ७३ जनालाई ज्येष्ठनागरिक र १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । जिल्ला कृषि कार्यालयबाट १२३ जनाले प्रत्यक्ष सेवा लिएका छन्भने घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले १० जनालाई आवश्यक सेवासुविधा दिएको छ । नापी कार्यालयबाट ५ जनाले परामर्श सेवा लिएका छन् ।
एकीकृत घुम्ती शिविरलाई सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सरकारी सेवासुविधालाई भरपर्दो रुपमा जनताको घरदैलोमा लैजानका लागि शिविर सञ्चालन गरिएको बताए ।

उनले सरकारलाई जनताका सामु पु¥याउने प्रयास गरिएको भन्दै सर्वसाधारणलाई सदरमुकामसम्म पुगेर लिनुपर्ने झन्झटिलो सेवाको मुक्ति दिलाउन एकीकृत घुम्ती शिविर आयोजना गरिएको बताएका छन् । मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले गाउँपालिकाको दुर्गम र विकट वस्तीका सर्वसाधारणलाई वडा कार्यालय परिसरमै सरकारी सेवासुविधा उपलब्ध गराउने उद्देश्यसहित पालिकाको पहलमा घुम्ती शिविर आयोजना गरिएको जानकारी दिए । कार्यक्रमको अवसरमा महेन्द्ररत्न माविको परिसरमा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको सुन्तलाको विरुवा रोपिएको छ ।

प्रजिअ अधिकारी, प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर, गाउँपालिका अध्यक्ष रोका र उपाध्यक्ष सिर्जना केसीले संयुक्त रुपमा सुन्तलाका विरुवाहरु रोपेका थिए । घुम्ती शिविरको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन पनि गरिएको थियो । जिल्ला प्रशासन र स्थानीय तहले ग्रामीण भेगमै पुगेर घुम्ती शिविरमार्फत सदरमुकामबाट प्रवाह हुने सरकारी सेवासुविधा दिँदा खासगरी वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई राहत मिलेको छ । गाउँमै सञ्चालन गरिएको घुम्ती शिविरका कारण स्थानीयलाई समयको बचत हुनुका साथै, खर्च कम र झन्झटिलो बाध्यताको अन्त्य भएको छ ।

प्रताप बानियाँ