सरकारले स्थानीय तह निर्वाचन गराएर छाड्नेः प्रधानमन्त्रीका सल्लाहकार खनालको दावि

  • ७ चैत्र २०७३, सोमबार
  • 2658 पटक पढिएको

म्याग्दी, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनितीक सल्लाहकार चन्द्रप्रकाश खनाल (बलदेप)ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको छ ।

IMG_3623
आगामी बैशाख ३१ गते सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने उद्घोष गर्दै उहाँले निर्वाचनपछि जनताको घरदैलोमा सरकारी सेवा सुविधा पूग्ने धारणा राख्नुभयो । ‘‘ संघियता मार्फत जिल्ला सदरमुकाममा केन्द्रित सेवा सुविधा अब गाउँपालिका र नगरपालिका मार्फत जनताको पहुँचमा पुग्दैछ, अब सेवा सुविधा मात्रै होईन आफ्नो गाउँ ठाउँको बजेट कसरी निर्माण गर्ने र विकास कसरी गर्ने भन्ने कुरा जनताकै हातमा हुन्छ,’’– उहाँले भन्नुभयो ।

IMG_3640
उहाँले माओवादीको जनयुद्ध र जनआन्दोलनको जगबाट मुलुकमा संघियता, धर्मनिरपेक्षता र समानुपातीक समावेशीता जस्ता मुद्धाहरु स्थापित भएको बताउँदै ती मुद्धाहरुलाई संस्थागत गर्न स्थानीय तहको चुनाब अपरिहार्य रहेकोमा जोड दिनुभयो । उहाँले मधेसमा देखिएको समस्यालाई सरकारले राजनितीक रुपमै हल गर्ने प्रयास गरेको बताउँदै चुनाब कसैले चाहेर नरोकिने बताउनुभयो ।

IMG_3620
उहाँले वर्तमान सरकारले निर्वाचन मार्फत मुलुकको समृद्धिको ढोका खोल्न लागिपरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड र तराईलाई जोड्ने गरि ठुलो परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न लागिपरेको धारणा राख्नुभयो । तत्कालिन माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डर समेत रहनुभएका खनालले जनताको अधिकार स्थापित गर्न माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै नयाँ संविधानको कार्यान्वयन हुन सकेमा मात्रै माओवादी आन्दोलन र जनयुद्धको लक्ष्य पुरा हुने बताउनुभयो

IMG_3627

उहाँले भाषणको राष्टवादले मुलुकमा समृद्धि सम्भव नरहेको भन्दै वर्तमान सरकारले उज्यालो मुलुक र समृद्धिको लागि चालेका कदमहरु प्रसंसनिय रहेको बताउनुभयो ।

DSC_0007

कार्यक्रममा बोल्दै नेकपा माअ‍ोवादी केन्द्रका केन्द्रिय पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले स्थानीय तहको पुनर्सरचनाको क्रममा म्याग्दीका दुई गाउँपालिकामा देखिएको समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै स्थानीय तहको कार्यान्वयनले जनतामा उल्लाहस ल्याएकोमा जोड दिनुभयो ।

DSC_0014

कार्यक्रममा वाईसिएलका प्रदेश नम्बर ४ का संयोजक सुमन देवकोटाले माओवादीको एजेण्डाहरु नयाँ संघिय संविधान मार्फत कार्यान्वयनको दिशातर्फ अगाडि बढेको बताउँदै अब युवाहरु देश विकासमा जुट्नुपर्ने धारणा राख्नुभयो । वाईसिएल म्याग्दीका संयोजक भोजबहादुर थापाको अध्यक्षता, सन्दिप खत्रीको स्वागत र सुवास विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

DSC_0017

कार्यक्रममा जनबादी गाएक झङ्कार बुढाथोकी मगरले जनवादी गितहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सुरु हुनुपूर्व सयौँको संख्यामा रहेका वाईसिएलका कार्यकर्ताहरुले बेनीबजारमा मार्चपास गरेका थिए । वाईसीएलको जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।