एकताको सन्देश लिएर ताकम पुगे नेकपाका नेताहरु

  • २९ जेष्ठ २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 1843 पटक पढिएको


म्याग्दी २९ जेठ । धौलागिरी गाउँपालीका ७ ताकममा मंगलबार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, निती र विकास निर्माणको कामलाई प्रभावकारी बनाउन प्रशिक्षण दिने उद्देश्यले आयोजित कार्यक्रममा ७ वटै वडाका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, बालकृष्ण सुवेदी, देउप्रसाद छन्त्याल, खुमनाथ सुवेदी, यामन रोका र होमबहादुर थापाले राजनितिक, बैचारीक, सैद्धान्तिक, पार्टीको बिधान, भावी योजना र जनप्रतिनिधिहरुको भुमिकाका विषयमा प्रशिक्षण दिएका थिए ।

गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, उपाध्यक्ष रेशम छन्त्यालको सञ्चालन र देवबहादुर थापाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि दरवाङ र बाबियाचौरमा गाउँपालीका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भैसकेको छ ।

यसैबीच तत्कालीन माओवादी केन्द्रका नेताहरुको बेनीमा भएको भेलाले एकता र संगठन समायोजनलाई सहजिकरण गर्नका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । गोविन्द पौडेल, देवराज सुवेदी, रेशम जुक्जाली, शेरबहादुर केसी र टेकबहादुर बिक रहेकोे कार्य दलले पार्टी एकताको समायोजनको विषयमा छलफल अघि बढाउने जिम्मेवारी पाएको छ ।

सन्तोष गौतम