म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी सुरु, कस्ता योजना छनौट होलान !

  • २९ जेष्ठ २०७५, मंगलवार
  • कमल खत्री
  • 3646 पटक पढिएको

म्याग्दी, २९ जेठ ।म्याग्दीमा आगामी आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु भएको छ । १ नगरपालिका र ५ गाउँपालिका सहित ६ स्थानीय तह रहेको यस जिल्लामा जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघिय सरकारले बजेट सार्वजनिक गरेपछि स्थानीय तहहरु बजेट निर्माणको तयारीमा जुटेका छन् ।

चालु आर्थिक बर्षका योजना तथा कार्यक्रमहरुको कार्यान्वयन पक्ष अन्तिम चरणमा पुगेको सन्दर्भमा ती योजनाहरुको काम र प्रगतीबारे अनुगमनमा समेत जुटेका जनप्रतिनिधिहरुले आगामी बर्षको लागि समेत समुदाय स्तरबाट योजनाहरु छनौटको प्रारम्भीक कामहरु सुरु गरेका हुन् । वडाका जनप्रतिनिधिहरु अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलहरुमा पुगेर आगामी बर्षको योजना तथा कार्यक्रमहरुको बारेमा छलफल गरि सुझाब संकलन थालिसकेका छन् ।
धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले वडाका जनप्रतिनिधि मार्फत बस्ती स्तरमा पुगेर बृहत भेला मार्फत योजनाहरुको प्राथमिकीकरण गर्ने कार्य थालनी गरिसकिएको जानकारी दिनुभयो ।

उहाँले जनताका अत्याबश्यक मागहरुलाई सम्बोधन हुने र समग्र गाउँपालिकाको विकास र समृद्धिलाई मध्यनजर गरि नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बताउनुभयो । असार २५ भित्र बजेट पेश गर्नुपर्ने स्थानीय तहहरुले असार १० गतेभित्रै नीति तथा कार्यक्रम पेश गर्नुपर्ने नितिगत व्यवस्था छ । स्थानीय तहमा निर्वाचित भएको पहिलो बर्ष हतारमा बजेट ल्याएका जनप्रतिनिधिहरुले यस पटक भने पूर्व तयारी र गृहकार्यका साथ सुदृढ खालको बजेट ल्याउने कसरत गरेको बताउँछन् । वडाका जनप्रतिनिधिहरुले बस्ती र टोल तहबाट योजनाहरु संकलन गर्न थालेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

‘‘ पहिलो बर्षको बजेटमा हामीले धेरै होमवर्क गर्न पाएनौँ, हतारमा ल्याइएको बजेटमा अत्याबश्यक योजनाहरु समेत छुटेको जनगुनासा बढी नै आए, यो बर्ष संघिय र प्रदेश सरकारले ल्याएका लक्ष्यहरुलाई प्राथमिकतामा राखेर बजेट र कार्यक्रम तय गर्छौ’’– मेयर श्रेष्ठले भन्नुभयोे । बजेट निर्माणको पूर्व तयारीमा जुटेका जनप्रतिनिधिहरुलाई टुक्रे, साना र उपलब्धी विहिन योजनाहरु छनौट नगर्न सरोकारवालाहरुले सुझाब समेत दिएका छन् । विगतमा कर्मचारीहरुले राजनितीक दलहरुलाई साँछी राखेर बनाउने टुक्रे योजनाहरुको निरन्तरताले विकासको गतिमा कुनै सकरात्मक परिवर्तन नगर्ने भन्दै परिणाममुखी, दिगो ,बजेटको उपयोग हुने , जनतालाई सुविधा र रोजगारि सिर्जना गर्ने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको हो ।

 

बजेट तयारीमा जुटेका स्थानीय तहका जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिले समेत योजना तर्जुमा तथा बजेटिङको सम्बन्धमा प्रशिक्षण दिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको बजेट निर्माणलाई प्रभाबकारी बनाउन जिसस मार्फत योजना तर्जुमा तथा बजेटिङको सम्बन्धमा प्रशिक्षण दिएको हो । जिल्लाका ६ वटै स्थानीय तहका पदाधिकारी एवम कर्मचारीहरुको लागि उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकिएको जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदीले जानकारी दिनुभयो।


स्थानीय तहले ल्याउने नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउँदै दिगो र प्रभाबकारी योजनाहरुमा बजेटीङ गर्न सहयोग पु¥याउने उदेश्यले बजेटको पूर्व सन्ध्यामा आयोजित प्रशिक्षण कार्यक्रमहरुले सहयोग पुग्ने जिसस प्रमुख देवेन्द्र बहादुर केसी उहाँले बताउनुभयो । संघिय सरकार र प्रदेश सरकारले पठाउने अनुदानमा निर्भर हुने स्थानीय सरकारका बजेट तथा कार्यक्रमले संघियताको मर्म अनुरुप जनतालाई विकास र समृद्धिको अनुभुति दिलाउन सक्नुपर्छ । आन्तरिक आम्दानी न्युन भएपनि केन्द्रिय अनुदान र स्थानीय सिमित स्रोत र साधनको अधिकतम उपयोग गरि उपलब्धीमुलक योजनाहरुमा बजेटीङ गर्ने तयारी गरिएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

?

म्याग्दीको बेनी नगरपालिका सहित, रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका र धौलागिरि गाउँपालिकाले स्थानीय तहको केन्द्रदेखि हरेक वडासम्म सहज सडक सञ्जालले जोड्ने योजनालाई जोड दिने तयारी गरेका छन् । विगतका बर्षमा टुक्रे योजनाहरु छनौट गर्दा बजेटको उपलब्धी न्युन हुने गरेको सन्दर्भमा आगामी बर्षको योजना तर्जुमा गर्दा जनप्रतिनिधिहरुले आ–आफ्ना गौरबका योजना छनौट गरि योजनाको प्रभाबकारीता र कार्यान्वयन गर्ने गरि बजेट तथा कार्यक्रम निर्माण गर्न सकेमा मात्रै स्थानीय तहका बजेटको उपयोग हुन सक्छ ।

म्याग्दीलाई बजेट :
संघिय सरकारले सार्वजनिक गरेको बजेटमा म्याग्दीलाई १ अर्ब २७ करोड ७७ लाख बजेट निनियोजन भएको छ । सरकारले संसदमा पेश गरेको बजेटमा जिल्लामा रहेका ६ स्थानीय तहहरु मध्ये बेनी नगरपालिकालाई सबैभन्दा धेरै ३६ करोड १९ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि अन्नपूर्ण गाउँपालिकालाई १९ करोड ४९ लाख, धौलागिरि गाउँपालिकालाई १५ करोड ९२ लाख, मंगला गाउँपालिकालाई १८ करोड ११ लाख, मालिका गाउँ पालिकालाई १९ करोड ७२ लाख र रघुगंगा गाउँपालिलाई १८ करोड ३४ लाख बजेट विनियोजन भएको छ ।

संघिय सरकारले स्थानीय तहलाई ससर्त र समानीकरण अनुदानको रुपमा बजेट बिनियोजन गरेपनि बिशेष र सम्पुरक अनुदानको बजेट भने आउँन बााकी रहेको छ । सरकारले राजश्व बाँडफाँटको बजेट समेत छुट्टै शिर्षकमा पठाएको छ । स्थानीय तहमा रहेका शिक्षक एवम कर्मचारी, जनसंख्या र भुगोल लगायतको आधारमा सरकारले ससर्त र समानीकरण अनुदानको बजेट पठाएको हो ।
                                                         टोलटोलमा जनप्रतिनिधि :
म्याग्दीको रघुगंगा गाउँपालिका कार्यपालिकाले आगामी आर्थिक बर्षको बजेट निर्माणको लागि टोलटोलमा जनप्रतिनिधि पुग्ने निर्णय गरेको छ । वास्तविक योजनालाई बजेटीङको लागि वडा अध्यक्ष र सदस्यहरुको सहभागीतामा वडाको टोल स्तरमा पुगेर स्थानीय टोल विकास समिति, युवा क्लब, आमा समुह, सरोकारवाला लगायतसंग छलफल गरि योजना तर्जुमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँले यस बर्ष ३ लाख भन्दा कम बजेटको योजना छनौट नहुने बताउनुभयो । गाउँपालिका भित्रका गौरबका आयोजनाहरुलाई मध्यनजर गरी निति, कार्यक्रम र बजेट निर्माण गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र गरिबीको रेखामुनी रहेका नागरिकको जिवनस्तरमा सुधार ल्याउने योजनाहरुलाई प्राथमिकतामा राखेर वडा स्तरबाट आगामी बर्षको योजनाहरु तर्जुमा गरिने बताउनुभयो । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाको गौरबका योजनाहरु बनाउनको लागि आबश्यक छलफल प्रारम्भ गरिएको बताउँदै गाउँबस्तीमा पुगेर योजनाहरुको प्राथमिकीकरणको काम सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l