हिस्तानमा पर्यटनकाे बजेट सडकमा !

  • २९ जेष्ठ २०७५, मंगलवार
  • गोपाल छन्त्याल
  • 1933 पटक पढिएको

म्याग्दी, २९ जेठ । सडक सञ्जाल विस्तारका कारण पदमार्गहरु सुनसान बन्दै गएका छन् । पर्यटन व्यवसायीहरु सडकलाई पर्यटनको मूख्य चुनौती मान्छन् । तर, म्याग्दीको अन्नपूर्ण–७ हिस्तानमा भने पर्यटन क्षेत्रको विकासका लागि विनीयोजित बजेट सडक निर्माणमा खर्च गरिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले पर्यटन रोयल्टी बापत प्राप्त गरेको १० लाख रुपैयाँ मध्ये ५ लाख लाख रुपैयाँ हिस्तानको जैसी चौतारादेखि खाडीखोलासम्म पदमार्ग निर्माणका लागि विनीयोजन गरिएको थियो ।

हिस्तानका पर्यटन व्यवसायी प्रदीप पुनले उपभोक्ता समितिले पदमार्ग निर्माण गर्नुको सट्टा दोसल्ले–औल सडकको ‘ट्रयाक’ खोल्न प्रयोग गरिएको बताए । ‘पर्यटन पूर्वाधारका लागि भनेर गाउँपालिकाले वडालाई बजेट दियो तर, त्यसले झन बाटो खन्न थालियो । हामीले त्यसको विरोध ग¥यौँ तैपनि सरोकावाला निकायले सुनेन्’, उनले भने, ‘कागज एउटा बनाउने र अनि पैशा अर्कोतिर हाल्ने ? पदमार्ग बनाउन नसकेपनि यहि वडामा पञ्चेवाला डाँडा र गाउँ हेर्ने डाँडा जस्ता पर्यटकीय स्थानहरु थिए, त्यसमा लगानी गर्नुपर्ने थियो ।’

पर्यटनको बजेट सडकमा प्रयोग गर्नुका अतिरिक्त उपभोक्ता समितिले एक लाख रुपैयाँ व्यवस्थापन खर्च भनेर विनीयोजन गरेपछि त्यसको वडा तहमा चर्को विरोध भएको छ । साविक हिस्तान गाविक गाउँपालिकामै छरिएको भूगोल भएको वडा पर्छ । हिस्तान, घराम्दी, औल, रिमा र महभीर गरि पाँच वटा छुट्टाछुट्टै गाउँ यहि वडा भित्र समावेश छ । औल टोल सुधार समितिका कुमबहादुर पुजाले शीर्षक बदलेर खर्च गर्नु ऐन विपरित भएपनि त्यस माथि उपभोक्ता समितिले व्यवस्थापन खर्च विनीयोजन गर्नु सरासर गलत भएको बताए । ‘औल र रिमाका सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म पुग्न सहज यातायातको सुविधा छैन, त्यसैले बाटो बनाउनुलाई एक हदसम्म ठिक मानेपनि ४ लाख रुपैयाँको मात्रै काम किन भयो ? एक लाख रुपैयाँ कहाँ गयो ?’, उनले प्रश्न गरे, ‘नियत ठिक देखिएन ।’

छरिएर रहेको बस्तीका कारण वडा कार्यालय हिस्तानबाट स्थानान्तरण गरि महभीरमा राखिएको छ । त्यसबाट गाउँपालिका आवतजावत गर्न सहज छ । वडा कार्यालय र गाउँपालिका जान औल र रिमाका सर्वसाधारणको असहजतालाई ध्यानमा राखी विनीयोजित बजेट सडकमा खर्च गर्नुपरेको उपभोक्ता समितिका सचिब निल प्रसाद पुनले बताए । ‘दोसल्ले, औल, रिमा र हिस्तानका अगुवाहरु मिलेर प्राप्त बजेट सडकमा प्रयोग गर्ने र जनश्रमदानबाट पदमार्ग बनाउने सहमति अनुसार दुबै काम सम्पन्न गरेका छौँ’, उनले स्पष्ट पारे, ‘हामीले आफ्नो आवश्यकता अनुसारको काम पनि गर्न नपाउने ?’ उनले पदमार्ग निर्माणका लागि रिमाले एक र दोसल्ले, औलले २/२ दिन प्रतिघरधुरीका हिसाबले काम गरेको समेत दाबी गरे । उपभोक्ता समितिका अनुसार, महभीर– दोसल्ले– हिस्तान–रिमा–राम्चे सडकखण्डको दोसल्लेको घुम्तीबाट औलतर्फ करीब ५ सय मिटर सडक खनिएको छ । सडक निर्माणमा ३२ घण्टा डोजर प्रयोग भएको र कडा चट्टानका कारण सोचे अनुसारको ‘ट्रयाक’ बढ्न नसकेको सचिब पुनको भनाई छ ।

वडाअध्यक्ष गम बहादुर फगामीले स्थानीयको नियत वेठिक नभएपनि प्रक्रियागत कम्जोरी भएको स्वीकार गरे । ‘जहाँसम्म एकलाख रुपैयाँ व्यवस्थापन खर्च विनीयोजनको कुरा छ, त्यो डोजर चालकको खाना÷खाजामा खर्च भएको छ’, उनले भने । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनीयोजित बजेट सडकमा खर्च गर्न नपाइने जानकारी दिए । ‘गाउँपालिकाको पेश्की पदमार्ग निर्माणका लागि भनेर गएको छ, श्रमदानबाट पदमार्ग र सडक निर्माण गर्छौ भन्ने त पायो तर, बजेट सबै सडकमा हाल्नु भएन’, उनले भने, ‘यसबारे थप अनुसन्धान गर्नेछौँ ।’

गोपाल छन्त्याल