पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा तीनसय बढी लाभान्वित (फोटोफिचर)

  • २८ जेष्ठ २०७५, सोमबार
  • प्रताप बानियाँ
  • 2566 पटक पढिएको

म्याग्दी, जेठ २८ । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । ग्रामीण भेगका महिलाहरुलाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट तीनसय भन्दाबढी लाभान्वित भएका छन् ।


माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा मल्लाज स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा महिलाहरुको पाठेघरसम्बन्धी समस्याको पहिचान गरिनुका साथै उपचार गरिएको छ । शिविरमा चेकजाँचको क्रममा डेढ दर्जन बढी महिलाहरुलाई अप्रेसनका लागि रिफर गरिएको मल्लाज स्वास्थ्यचौकीले जनाएको छ । उक्त शिविरमा महिलाको पाठेघरको उपचार, औषधी वितरण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो ।


शिविरको उद्घाटन गर्दै जलजला–३ का वडा अध्यक्ष देवेन्द्र भण्डारीले महिलाहरुमा लाग्ने रोगको कारणहरु पत्ता लगाउनुपर्ने बताएका छन् । उनले रोग लुकाएर नबस्न महिलाहरुलाई आग्रह गर्दै स्वास्थ्यचौकीको स्तरोन्नति र सेवासुविधा विस्तारका लागि आफूले वडा कार्यालयबाट सक्दो पहल गर्ने बताए ।


स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर टिकाकुमारी गुरुङले महिलाहरुलाई रोग लुकाएर एवं लाज मानेर नबस्न आग्रह गरेकी छिन् । उनले संसारमा महिलाहरुको मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर दोस्रो ठूलो रोग रहेको भन्दै पाठेघरमा हुने क्यान्सरको समयमै उपचार गरेमा रोग निको हुने बताइन् ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका नेता तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लालबहादुर अधिकारीले विगतमा पनि स्वास्थ्यचौकीमा विभिन्न समयमा शिविरहरु सञ्चालन गर्ने गरिएको बताएका थिए । पब्लिक हेल्थ नर्स कल्पना गुरुङले महिलाहरुमा हुने पाठेघर खस्ने समस्याको पहिचान गरेर उपचार गर्ने उद्देश्यसहित शिविर आयोजना गरिएको जानकारी दिइन् ।


कार्यक्रम वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र भण्डारीको अध्यक्षता, इन्चार्ज गोरे नेपालीको सञ्चालन र माझफाँट महिला सहकारीका अध्यक्ष शान्ता लामिछानेको स्वागतमा सम्पन्न भएको थियो । प्रदेश नम्बर ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनको विशेष पहलमा सञ्चालन भएको शिविरमा जलजला गाउँपालिकाको विभिन्न वडाका महिलाहरुले सेवा लिएका थिए ।

प्रताप बानियाँ