म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

  • २७ जेष्ठ २०७५, आईतवार
  • 2143 पटक पढिएको

म्याग्दी, जेठ २७ । ग्रामीण भेगका जनतालाई लक्षित गरेर म्याग्दी जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीको तीन ठाउँमा स्वास्थ्य शिविर गर्न लागिएको हो ।


आगामी असार ७, ८ र ९ गते क्रमशः मालिका गाउँपालिकाको दरबाङ, अन्नपूर्णको पोखरेबगर र बेनी नगरपालिकाको जिल्ला स्वास्थ्य कार्यालय परिसरमा शिविर सञ्चालन हुने जनाइएको छ । शिविर सञ्चालनको तयारीका लागि आइतबार बेनीमा मन्त्रालयका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि र कर्मचारीबीच अन्तत्र्रिmया तथा छलफल समेत गरिएको छ ।


महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाको विशेष पहलमा म्याग्दीमा स्वास्थ्य शिविर गर्न लागिएको उनको निजी सचिवालयले जनाएको छ । शिविरमा बालरोग, महिला र जनरलसम्बन्धी स्वास्थ्य समस्याको चेकजाँच गरिने बताइएको छ ।
शिविरमा केन्द्रबाट विशेषज्ञ डाक्टरसहितको टोलीले स्वास्थ्य चेकजाँच गर्नुका साथै औषधी वितरण गर्ने र स्थानीय तहमा सम्बन्धित तहले आवश्यक व्यवस्थापन र सहयोग उपलब्ध गराउने बेनी नगरपालिका उपप्रमुख सन्जु बरुवालले बताइन् ।