मल्कबाङ्गको जनजागृति माविमा रु १ लाख ७५ हजारको अक्षयकोष स्थापना

  • २४ जेष्ठ २०७५, बिहीबार
  • 1895 पटक पढिएको


म्याग्दी, २४ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङ्गमा रहेको जनजागृति माध्यमिक विद्यालयमा रु १ लाख ७५ हजारको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा हरेक बर्ष उत्कृष्ट अंक ल्याएर उर्तिण हुने विद्यार्थिहरुलाई पुरस्कृत गर्ने उदेश्यले उक्त अक्षयकोषको स्थापना गरिएको हो । उक्त अक्षयकोषमा विद्यालयका पूर्व अध्यक्ष सुवेदार तुल बहादुर घ्याप्चन छन्त्यालले आफ्नो स्वर्गीय आमा अनमा घ्याप्चन छन्त्यालको स्मृतिमा रु १ लाख पच्चीस हजार सहयोग गर्नुभएको छ ।

विद्यालयका जेहेन्दार विद्यार्थिहरुको लागि छन्त्यालले उपलब्ध गराउनुभएको उक्त सहयोग रकममा मल्कबाङ्ग घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालले समेत रु ५० हजार सहयोग थप गरि अक्षयकोषको रकम बृद्धि गरिएको हो । ‘‘ विद्यार्थीहरुलाई उत्कृष्ट हुन हौसला दिने उदेश्यले अक्षयकोष स्थापना गरिएको हो, विद्यालयको चौतर्फि विकासमा संधै मेरो साथ रहन्छ,’’–अक्षयकोषका अभियन्ता छन्त्यालले भन्नुभयो ।

सहयोग दाता छन्त्यालले गत बैवाखमा विद्यालयको नवनिर्मित भएको उद्घाटन समारोहमा अक्षयकोषको घोषणा गर्नुभएको थियो । साविक मल्कबाङ्ग गाविसका पूर्व अध्यक्ष समेत रहनुभएका छन्त्यालले विद्यालयको स्तरोन्नती गरि कक्षा १० सम्म पठनपाठन हुने कार्यमा समेत महत्वपूर्ण भुमिका खेल्नुभएको थियो ।

उक्त अक्षयकोषको ब्याज रकमबाट हरेक बर्ष शिक्षा दिबसको अवसरमा विद्यालयमा उत्कृष्ट अंक ल्याएर उर्तिण हुने, मेहनती, खेलकुदमा अगाडी आउने विद्यार्थीहरुलाई पुरस्कृत गरिने अर्का अभियन्ता शेर छन्त्यालले बताउनुभयो । यसैबिच जनजागृति माविमा मल्कबाङ्ग समाज युकेको पहलमा केन्द्रिय समाज पोखराद्धारा प्रदान हुने मोतिलाल पुरस्कार समेत स्थापना गरिएको छ । विद्यालयका संस्थापक शिक्षकको नाममा २ बर्ष अगाडी स्थापना भएको उक्त पुरस्कारबाट हरेक बर्ष एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याएर उर्तिण हुने एक जना विद्यार्थीहरुलाई रु २० हजार नगद सहित पुरस्कृत गरिँदै आईएको छ ।