जनप्रतिनिधिको आगमनले विकास निर्माणमा तिब्रता, असारे विकासको अन्त्य !

  • २४ जेष्ठ २०७५, बिहीबार
  • 3067 पटक पढिएको

म्याग्दी, २४ जेठ । म्याग्दीमा स्थानीय सरकारबाट कार्यान्वयनमा आएका विकास निर्माण योजनाहरुको कामले गति लिएको छ । विगतका बर्षहरुमा असार महिनामा बजेट सक्नको लागि अधिकाँश पूर्वाधार निर्माण योजनाका कामहरु सम्पन्न हुने गरेको भएपनि यो बर्ष भने जिल्लामा सञ्चालनमा रहेका पूर्वाधार निर्माणका योजनाहरुको प्रगती सुधारोन्मुख देखिएको छ । विगतमा हुने गरेको ‘असारे विकास’ लाई शुन्यमा झार्ने लक्ष्य सहित स्थानीय तहका सरकारहरुले विकास निर्माण योजनाहरुको कार्यान्वयनमा जुटेका छन् ।

भौतिक पूर्वाधारतर्फ ११० वटा योजना सञ्चालन गरेको धौलागिरि गाउँपालिकाले आधा भन्दा बढी योजना पूर्ण रुपमा सम्पन्न गरेको जनाएको छ । अधिकाँश योजनाको निर्माण कार्य सम्पन्न हुने क्रम बढेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताउनभुयो । ‘‘ नियमित र छड्के अनुगमन गरि योजनाहरुको प्रगतीलाई नजीकबाट हेरेका छौँ, कार्यपालिका र वडा तहका जनप्रतिनिधिहरु समेत विकास निमाण योजनालाई समयमै सम्पन्न गराउने गरि कार्यान्वयनमा जुट्नुभएको छ,’’– प्रशासकिय अधिकृत शर्माले भन्नुभयो ।

?

१ नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका स्थानीय सरकारहरुले पुँजीगत खर्चलाई राष्ट्रिय औसत भन्दा बढी पु¥याउने लक्ष्य अुनसार अगाडी बढेका छन् । विगतका बर्षहरुमा जिल्लामा सदरमुकाम बेनीबाट योजना छनौट हुने, नियमित अनुगमन नपुग्ने, बजेट ढिला गरि आउने, उपभोक्ता समितिहरु सक्रिय नहुने जस्ता समस्याले भौतीक पूर्वाधारतर्फका योजनाहरु ढिला गरि कार्यान्वयनमा आउने र बर्षात सुरु भएपछि काम हुने परिपाटीले गुणस्तरीय काम नहुने विद्यमान समस्या थियो ।

संघियताको कार्यान्वयनसंगै स्थानीय सरकार गठन भएपछि सम्बन्धित तहहरुमा पूर्वाधार तर्फका योजनाहरु समयमै सम्पन्न हुने हुने क्रम बढेको हो । बेनी नगरपालिकामा बिगतका बर्षहरुको तुलनामा यस बर्ष सडक र पूर्वाधार तर्फको कामको प्रगती राम्रो देखिएको नगरपालिकाका इन्जिनियर बिमल रञ्जन कार्कीले बताउनुभयो । ‘‘उपमेयर ज्यूको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, वडाका जनप्रतिनिधि र सम्बन्धित प्राविधिकहरुबाट अनुगमन भैरहेको छ, सम्झौता भएका अधिकाँश पूर्वाधार तर्फका योजनाहरुको काम धमाधम भएको पाईएको छ, केही सुस्त देखिएकाहरुलाई पनि ताकेता गरेका छौँ,’’–ईन्जिनियर कार्कीले भन्नुभयो ।


बेनी नगरपालिकामा सडक बोर्डबाट आएको सडकको बजेट प्रकृयागत ढिलाई र डम्पिङ साईट निर्माण योजनाको काममा स्थान छनौटमा स्थानीयको असहमतीको कारण केही ढिलाई भएको देखिएको छ । भौतीक पूर्वाधारतर्फ ८ वटै वडामा गरि झण्डै २०० बढी योजना छनौट गरेको रघुगंगा गाउँपालिकामा पनि अधिकाँश पूर्वाधारको काम सम्पन्न भएका छन् । अन्य बाँकी योजनाहरुको काम अन्तिम चरणमा पुगेको र कामहरुको अबस्था मुल्याङ्ककनको लागि समेत अनुगमनलाई तिब्रता दिइएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेका करिब २ सय भौतिक पूर्वाधारका योजनामा आधा भन्दा बढीको काम सम्पन्न भैसकेका छन् । सबैजसो पूर्वाधार निर्माणका योजनालाई जेठ मसान्तभित्रै सम्पन्न गर्ने गरि अनुगमन र मुल्याङ्कनको कामलाई समेत तिब्र पारिएको प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले बताउनुभयो।  मालिका गाउँपालिकामा ८५ प्रतिशत भौतीक पूर्वाधार तर्फका योजना सम्पन्न भएका छन् । अधिकाँश योजनाको निर्माण कार्य अन्तिम चरणमा रहेकाले जेठ भित्र पूर्वाधार निर्माण तर्फका योजनालाई सम्पन्न गराउने गरि काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

मंगला गाउँपालिकामा भौतीक पूर्वाधार तर्फका ७५ प्रतिशत काम सम्पन्न भएको छ । योजनाहरुको अनुगमन गरि मुल्याङ्कन र अन्तिम किस्ता भुक्तानीको काम भैरहेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो। ‘‘ विगतमा जस्तो बजेटको उपलब्धी नै नदेखिने गरि हुने कामलाई कडाई गरेका छौँ, बजेट लाई उपलब्धीमुलक बनाउने गरि काम गर्ने संस्कारलाई जोड दिएका छौँ,’’–गाउँपालिका अध्यक्ष रोकाले भन्नुभयो ।

यस आर्थिक बर्षमै प्रदेश र प्रतिनिधि सभा निर्वाचन समेत भएकाले पनि विकास निर्माण योजनाहरुको काममा केही ढिलाई भएको थियो । यद्यपी पहिले सदरमुकाम बेनीबाट परिचालन हुने बजेट र जनशक्ति अहिले ६ वटा स्थानीय तहबाट परिचालन भएकाले पनि विकास निर्माण योजनाहरुलाई कार्यान्वयनमा सहज भएको हो । हरेक वडा तहमा रहेका जनप्रतिनिधिहरुले समेत आ– आफ्नो क्षेत्रमा भित्रिएको बजेटको सदुपयोग र कार्यान्वयनमा जुटेपछि विकास निर्माणमा सकरात्मक संकेतहरु देखिन थालेका हुन् ।