शिशु कल्याण माविको स्वर्ण जयन्तीको अवसरमा रु १२ लाख बढी चन्दा संकलन

  • २३ जेष्ठ २०७५, बुधबार
  • 1423 पटक पढिएको

म्याग्दी, २३ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाइएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० देखि २२ गतेसम्म विविध कार्यक्रम गरि स्वर्ण जयन्ती मनाईएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयका भुपु विद्यार्थीहरुले विद्युतिय पुस्तकालय तथा अक्षयकोष स्थापनार्थ रु १२ लाख बढी चन्दा संकलन गरेका छन् ।

विद्यालयका पूर्व विद्यार्थिहरुको पहलमा स्वदेश तथा विदेशमा रहेका पूर्व विद्यार्थी एवम सहयोगदाताहरुबाट उक्त सहयोग जुटेको चन्दा संकलन समितिका आर्थिक संयोजक गोविन्द रोकाले जानकारी दिए । उनका अनुसार, स्वदेश तथा विदेशमा रहेका विद्यालयका भुपु विद्यार्थिहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो स्वर्ण जयन्ती समारोहको प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेकी थिइन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर रोकाको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सवमा चर्चित लोक गायक खड्क गुर्वजा, गायक राम गगन र स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुती राखेका थिए । सो अवसरमा अभिभावक, भुतपुर्व बिद्यार्थीहरु र अध्यनरत विद्यार्थीहरुका लागि खेलकुद संगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत सम्पन्न गरिएको बिधालयका शिक्षक उमा देबि कंडेलले जानकारी दिईन ।