जनताको गुनासो सुन्न राम्चेमा सार्वजनिक सुनुवाई

  • २२ जेष्ठ २०७५, मंगलवार
  • 1867 पटक पढिएको

राकेश शर्मा / म्याग्दी, २२ जेठ । ग्रामिण भेगका जनताको गुनासो र अपेक्षा सुन्ने उद्देश्यले अन्नपुर्ण गाउँपालिका राम्चेमा सार्वजनिक सुनुवाई सोमबार भएको छ । ८ वडा रहेको गाउँपालिकाको पायक पर्ने स्थान छनौट गरि ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको हो । सोमबार वडा ८ राम्चेमा वडाबासीको सहभागितामा , गाउँपालिका मार्फत सञ्चालित योजना, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरणका विषयमा सार्वजनिक सुनुवाई गरिएको छ ।

वडा नं ८ वडाअध्यक्ष खमबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले उठाएका सवाल बारे गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जवाफ दिएका थिए ।
कार्यक्रममा राम्चेका अगुवा लक्ष्मण गर्बुजाले गाउँपालिकाको गौरबको सडक आयोजना पोखरेबगर–हिस्तान–राम्चे सडकको स्तरोन्नति कार्यको प्रभावकारी अनुमगन हुनुपर्ने बताए ।

राम्चे र नागीलाई गाउँपालिकाको केन्द्र पोखरबेगरसँगै जिल्ला सदरमुकाम बेनी र पोखरासँग जोड्न पर्वतको जलजला गाउँपालिकासँग सहकार्य गरेर मल्लाज–फलाटे–नागी सडक निर्माणमा पहल गर्न स्थानीइ बासीले आग्रह गरेका थिए ।
राम्चेबासीले गाउँपालिका अन्र्तगत सबैभन्दा दुर्गम मानिने क्षेत्रलाई मध्यनजर गर्दै गौरबको आयोजना सञ्चालन गरेकोमा उत्साहित हुदै आगामी दिनमा त्यसलाई निरन्तरता दिन माग गरेका थिए ।

स्थानीय ओमबहादुर गर्बुजा, फासबहादुर गर्बुजा, गेममायाँ पुन, चाम बहादुर पुर्जाले सडकका अतिरिक्त स्वास्थ्य सेवा तर्फ बर्थिङ सेन्टरको प्रभावकारी सञ्चालन, सुत्केरी महिलाहरुलाई तत्काल प्रोत्साहनभत्ता, कृषि तथा पशु सेवातर्फ पशु बिमा, आलुमा देखिएको विभिन्न किसिमका समस्याका विषयमा जानकारी गराएका थिए ।
गाउँपालिका भित्रको दुर्गम क्षेत्रलाई उच्च प्राथामिकताका साथ बजेट विनीयोजन गरिएको भन्दै अध्यक्ष पुनले त्यसको समुचित प्रयोग भएकोमा स्थानीय बासीलाई धन्यवाद दिएका थिए । ‘गाउँपालिकाको पहिलो प्राथामिकता शिक्षा हो, ‘शिक्षासँगै स्वास्थ्य, भौतिक पूर्वाधारको विकास र मानवीय विकासमा समेत ध्यान दिनेछौँ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केशमायाँ तिलिजाले गाउँपालिकाको आन्तरिक आय बृद्धि गर्नुपर्ने आवश्यकता औल्याउँदै जलविद्युतको हब र पर्यटन विकासमा जोड दिने बताईन ।

गाउँपालिका अनुसार, वडा ९ राम्चेमा चालु आबमा ५१ वटा योजनामध्ये ३२ वटा सम्पन्न भइसकेको, ११ योजना सञ्चालनमा रहेको र ७ वटा अझै सम्झौता हुन बाँकी रहेको जनाएको छ । गाउँपालिकाले म्याग्दी मिडिया सोसाइटीसँगको सहकार्यमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन गाउँपालिकाको नायब सुब्बा कुलप्रसाद आचार्यले गरेका थिए भने सहजीकरण सोसाइटीका अध्यक्ष गोपाल छन्त्याल र राकेश शर्माले गरेका थिए ।