म्याग्दीमा ५६ थान सोलार डायर वितरण

  • १८ जेष्ठ २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 3919 पटक पढिएको

बाबियाचौर, १८ जेठ । म्याग्दीको उच्च पहाडी क्षेत्रको जंगलमा खेर गैरहेको सागपातलाई आयस्रोतको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय महिलाहरुलाई सोलार डायर वितरण गरिएको छ ।

प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा धौलागिरी, मालिका, मंगला, अन्नपूर्ण गाउँपालीका र बेनी नगरपालीकामा ५६ थान सोलार डायर वितरण गरिएको हो ।

जडिवुटी, फलफुल, ढकायो, निउरो, सिस्नो, तरकारी, माछा, मासु, च्याउलाई सुरक्षित रुपमा सुकाएर प्याकेजीङ र बजारीकरण गरी स्थानीयबासीको आम्दानीको स्रोत बढाउने उद्देश्यले सोलार डायर सहयोग गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

धौलागिरीमा १०, मालिकामा १८, मंगलामा १०, अन्नपूर्णमा १२ र बेनी नगरपालीकामा ६ थान सोलार डायर डायर वितरण गरिएको छ । सामुहिक प्रयोगका लागि प्रत्येक बस्ती तथा वडालाई समेट्ने गरी डायर उपलब्ध गराइएको हो ।

उपभोगको अभावमा जंगलमा कुहिएर खेर गैरहेका प्राकृतिक स्रोतलाई सदुपयोग गरेर ग्रामिण क्षेत्रका महिलाहरुको आयआर्जन सुधारका लागि मन्त्री पुनले स्थानीय तहसंग सोलार डायर वितरणको कार्यक्रम सञ्चालन गर्न पहल गर्नुभएको थियो ।

७५ प्रतिशत अनुदानमा सोलार डायर खरिद गरेर महिला र आमा समूहलाई वितरण गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ९० हजार रुपैया बजार मूल्य रहेको सोलार डायरमा सरकारले ७५ प्रतिशत छुट दिदाँ २५ हजार रुपैया पर्न आउँछ । मंगलाले २५ हजारमा ७५ प्रतिशत छुट दिएको हो भने मालिका र धौलागिरीले सत प्रतिशत अनुदानमा वितरण गरेका छन् ।

मंगला गाउँपालीकामा महिला लक्षित बजेटबाट खरिद गरिएको सोलार डायर शुक्रबार समूहहरुलाई वितरण गरिएको थियो । एक पटकमा १४ किलोग्राम सम्म तौल भएका बस्तु सुकाउन सकिने सोलार डायरले प्राकृतिक गुण र स्वादलाई कमै मात्र प्रभाव पार्ने आस्था ईञ्जिनियरीङ सोलुसनका प्राबिधिकहरुले बताएका छन् ।

सन्तोष गौतम