स्वर्गिय बोहोराको घरपरिवारलाई हङकङबाट रु ३ लाख आर्थिक सहयोग हस्तान्तरण (फोटो फिचर)

  • १६ जेष्ठ २०७५, बुधबार
  • कमल खत्री
  • 2844 पटक पढिएको

म्याग्दी, १६ जेठ । स्तन क्यान्सर रोगबाट थलिएर हङकङमै मृत्युबरण गरेकी म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानकी गिता बोहोरा क्षेत्रीको घरपरिवारलाई राहत सहयोग गरिएको छ । स्तन क्यान्सर भएको पत्तो लागेपछि उनलाई हङकङ कै एक हस्पिटलमा भर्ना गरेर उपचार गरिदै आईरहेको थियो । स्वर्गीय बोहोराको उपचारको लागि आर्थिक सहयोग संकलन गर्ने अभियान समेत संन्चालन गरिएको थियो । उक्त सहयोग संकलन अभियान मोना हङकङ तथा हङकङ क्षेत्री समाजबाट संचालन गरिएको थियो । दिवंगत बोहोराको पार्थिब शरिरलाई हङकङदेखि गृहगाउँ ल्याउनको लागि हङकङ क्षेत्री समाजका उपाध्यक्ष बाबुराम क्षेत्रीको संयोजकत्वमा संकलन गरिएको रु ३ लाख आर्थिक सहयोग रकमलाई पिडित परिवारलाई उपलब्ध गराईएको हो ।

मोना हङकङ ,   हङकङ क्षेत्री समाज , पर्वत क्लब लगायतको पहलमा दिवंगत गिताको सबलाई नेपाल पठाइएको थियो । अभियानको क्रममा संकलन भएको रकममध्ये  बोहोराको उपचार खर्च कतौटी गरि बचत भएको उक्त रकमलाई परिवारलाई हस्तान्तरण गरिएको उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त सहयोग रकम हङकङ क्षेत्री समाजका अध्यक्ष सुब्बा बस्नेतले मंगलवार सल्यान गाउँमै पुगेर दिवंगत बोहोराकी आमा सान्ती र बुबा याम बहादुर बोहोरा क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको छ । बोहोरा परिवारकी ८ बहिनी छोरीहरु मध्ये साइली छोरी गिताले बहिनीहरुको पढाई र घरखर्च जुटाउने गरेकी थिइन् ।

सहयोग हस्तान्तरण गर्दै हङकङ क्षेत्री समाजका अध्यक्ष बस्नेतले गिताको उपचारको क्रममा समेत उनलाई बचाउन धेरै प्रयास गरिएको स्मरण गर्दै उनको उपचारदेखि पार्थिब शरिरलाई नेपाल ल्याउने अभियानमा सहयोग गर्ने महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

‘‘ सबै थोक हाम्रो हातमा नहुँदो रहेछ, उनको उपचारमा सबै क्षेत्रबाट सहयोग जुटीरहेको थियो, अकस्मात उपचारकै क्रममा हामीले गुमायौँ, तैपनि धेरै प्रकृया पुरा गरि उनको पार्थिब शरिरलाई नेपाल पठाउन र थोरै भएपनि परिवारलाई सहयोग जुटाउन सफल भयौँ,’’– अध्यक्ष बस्नेतले भन्नुभयो ।

सहयोग रकम बुझ्दै बुबा याम बहादुर बोहोरा क्षेत्रीले प्रवासै विरामी भएर थलिएकी छोरीको निधन भएपछि पार्थिब सरिरलाई समेत देख्न नपाउने पिर परिरहेको सन्दर्भमा सहयोग जुटाएर नेपाल पठाईदिएकोमा हङकङ क्षेत्री समाज , माेना हङकङ लगायत सबैलाई आभार व्यक्त गर्नुभयो । ‘‘ हामी बुढाबुढीलाई छोरो भएर सेवा गर्छु भनेर विदेशी गएकी थिईन्, अचानक यस्तो हुन पुग्यो, उनको अभाबले हामी साहारा विहिन बनेका छौँ,’’– उहाँले भन्नुभयो ।

७ बर्ष अगाडी हङकङ पुगेकी २९ बर्षिया बोहोरा क्षेत्री विगत तीनबर्ष देखी स्तनक्यान्सरबाट पिडित भएकी थिइन् । उनको उपचारको क्रममा समेत हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रावासी नेपाली संघ (मोना) हङकङ , हङकङ क्षेत्री समाज लगायतका विभिन्न संघ संस्थाको समन्वयमा आर्थिक संकलन गरि सहयोग गरिएको क्षेत्री समाज हङकङका उपाध्यक्ष बाबुराम क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, गिताको उपचारकै क्रममा समेत हङकङ क्षेत्री समाजले १३ हजार हङकङ डलर सहयोग गरेको थियो ।

अस्पतालमै उपचार गराईरहेको अबस्थामा क्षेत्रीले आफ्नो जन्मगाउँ फर्कने इच्छा व्यक्त गरेकी थिइन् । उपचार गरि स्वदेश फर्किने उनको अपना अधुरै रहेपनि उनको परिवारको चाहना बमोजिम सहयोग जुटाएर पार्थिब सरिरलाई हङकङबाट गृह गाउँमै ल्याएर अन्त्योष्टि गरिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l