बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु (फोटो फिचर)

  • १५ जेष्ठ २०७५, मंगलवार
  • कमल खत्री
  • 5042 पटक पढिएको

म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षण्को लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका : खल : अन्र्तगतको मैजु : खलको आयोजनामा सुरु भएको तालिममा करिब ८० जनाले सहभागीता जनाएका छन् ।
शुभ कार्यहरुमा बजाईने धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउने कलाकारहरु लोप हुँदै गएको सन्दर्भमा नयाँ पुस्तामा संस्कृति हस्तान्तरण र बाजा बजाउने शिपको क्षमता विकासको लागि मंगलबारदेखि सुरु भएको तालिम एक महिनासम्म सञ्चालन हुनेछ ।

मैजुः खलका अध्यक्ष तुलशिलता श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले मौलीक कला, संस्कृति र भाषाको संरक्षणले मात्रै परम्परागत मान्यताहरुलाई जोगाउन सकिने बताउनुभयो । उहाँले नगरक्षेत्रभित्र रहेका कला संस्कृति र सम्पदाहरुको संरक्षण र सम्बद्र्धनको लागि नगरपालिकाले आगामी बर्षको निती तथा कार्यक्रममा बिशेष सम्बोधन गर्नेे बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष रामकृृष्ण बराईली र नेपाल भाषा मंकाः खलः का जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले कला संस्कृतिको संरक्षणले परम्परागत मुल्य मान्यताहरु नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने बताउँदै वैदेशिक रोजगारि र बसाईसराईको कारण संकटमा परेको परम्परागत संस्कृतिहरुलाई संरक्षणको आबश्यकता औँल्याउनुभएको थियो ।

कार्यक्रममा खलः का सल्लाहकार प्रकाश कुमार श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले बेनी स्थित विभिन्न जातजातीहरुको पहिचान र संस्कृतिलाई संरक्षणको लागि मंका : खल :को परिसरमा बहुउदेश्यीय भवन निर्माण गर्ने योजना रहेकाले सबै क्षेत्रबाट सहयोगको लागि आग्रह गर्नुभयो ।

त्यसैगरि ल्याम : पुचः का अध्यक्ष सुविन श्रेष्ठले धिमे बाजाको तालिम ३ बर्ष पहिले पनि संचालन गरिएपनि बाँसुरी बाजाको तालिम भने पहिलो पटक आयोजना गरिएको बताउँदै सहभागीहरुलाई तालिमलाई फलदायी बनाउन आग्रह गर्नुभयो । तालिममा सज्ञन महर्जनले तालिम दिन सुरु गर्नुभएको छ । मैजुः खलका उपाध्यक्ष रजनी कर्माचार्य श्रेष्ठको स्वागत र सचिब सुगम श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l