गूर्जामा कुपोषणको एकीकृत व्यवस्थापन तालिम, ओटिसी सेन्टरबाट सेवा सुरु

  • ११ जेष्ठ २०७५, शुक्रबार
  • 3145 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, जेठ ११ । पश्चिम म्याग्दीको विकट तथा दुर्गम धौलागिरि गाउँपालिका–१, गूर्जामा कडा तथा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । गूर्जा स्वास्थ्यचौकीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि तालिम सञ्चालन गरिएको हो ।


कडा, शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित स्वयंसेविकालाई तालिम दिइएको सुआहारा कार्यक्रमले जनाएको छ । तालिममा नेपालमा पोषणको अवस्था, आपतकालीन अवस्थामा पोषण, बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणको जानकारी, सुआहारा कार्यक्रमको परिचय, मातृशिशु तथा बाल्यकालीन पोषणको आवश्यकता, स्तनपान तथा थप पुरक खानालगायत शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनका विषयमा सहजीकरण गरिएको थियो ।
दुई दिनसम्म चलेको तालिममा गूर्जाका ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले सहभागिता जनाएका थिए । तालिमको गूर्जा स्वास्थ्यचौकीका निमित्त इन्चार्ज मुकेशकुमार शाह र अनमी एसश्वरी शाहले सहजीकरण गरेका थिए । तालिम समापनमा सुआहारा म्याग्दीका पोषण व्यवहार परिवर्तन सञ्चार अधिकृत रेजिना चुँडालले रेडियो नेपाल र विभिन्न एफएमहरुबाट प्रसारण हुने जानकारीमूलक ‘भन्छिन् आमा’ कार्यक्रम सुन्न आग्रह गरेकी छिन् । उनले कडा, शीघ्र कुपोषित बालबच्चाको पहिचान गरी उपचार गर्नुपर्ने भन्दै स्वयंसेविकाहरुले स्वच्छता र सरसफाइका विषयमा समुदायमा सिकाउनुपर्नेमा जोड दिइन् ।


गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले व्यवहार परिवर्तन गराउन जोड दिनुपर्ने बताउँदै विद्यालयमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिएका छन् । सोही अवसरमा गूर्जा स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र ओटिसी सेन्टरबाट कडा तथा शीघ्र कुपोषित बालबालिकाहरुका लागि उपचार सेवा सुरुवात गरिएको थियो ।
यसैबीच लुलाङमा पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कडा तथा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी विषयमा तालिम दिइएको छ । लुलाङ स्वास्थ्यचौकी र ताकम स्वास्थ्यचौकीमा समेत ओटिसी सेन्टर स्थापना गरी सेवा शुभारम्भ गरिएको बताइएको छ ।