म्याग्दी काँग्रेसको जागरण अभियान सुरु, मौवाफाँटमा अगुवा कार्यकर्ता भेला

  • १० जेष्ठ २०७५, बिहीबार
  • 1871 पटक पढिएको

म्याग्दी, १० जेठ । संविधान जारी भएपछि गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफु अनुकुल नतिजा प्राप्त गर्न नसकेपछि शिथिल बनेको काँग्रेस म्याग्दीले निर्वाचन सम्पन्न भएको ६ महिनापछि स्थानीय तहमा अगुवा कार्यकर्ता भेला आयोजना गर्दै जागरण अभियान सुरु गरेको छ । निर्वाचनमा जित र हार प्राविधिक पक्ष भएकाले जनतासँगको सम्बन्ध थप मजबुत बनाउन जागरण अभियान सुरु गरिएको नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले जानकारी दिए ।

उनका अनुसार, रघुगंगाको मौवाफाँट, धवलागिरिको मुना, मालिकाको दरबाङ, मँगलाको बावियाचौरमा र अन्नपूर्णको पोखरेबगरमा अगुवा कार्यकर्ता भेला आयोजना गरिनेछ । ‘बिहिबारबाट हाम्रो गाउँ जागरण अयिभान सुरु भयो । यो सबै स्थानीय तहको केन्द्रमा सबै वडाका अगुवा कार्यकर्ता र गाउँ इकाई सभापतिहरु आउनुहुनेछन्’, उनले भने, ‘भेलामा भावी योजनाका विषयमा व्यापक छलफल र कार्ययोजना बन्नेछ ।’

यसैबीच, बिहिबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति खम्विर गबुर्जाले आफ्ना कार्यकर्तालाई काँग्रसको कार्यकर्ता जागरण अभियानलाई सफल बनाउन जोडतोडले लाग्न निर्देशन समेत दिएका छन् । उनले जागरण अभियानले कार्यकर्तामा उत्साह बढ्नेसमेत बताएका छन् ।

कार्यक्रममा जिल्ला कार्य समितिका सचिव क्या. मिन बहादुर कार्की, गाउँपालिकाका प्रमुख भब बहादुर भण्डारी, पुर्व सहसभापति नेत्र महतले मन्तव्य राखेका थिए। कार्यक्रम रघुगंगा ३ न. वडाका वडा अध्यक्ष जिवन कुमार मल्लको अध्यक्षता र चेतनाथ सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।