देविस्थानमा नेपाली कागज उद्योग ( फाेटाेफिचर)

  • १० जेष्ठ २०७५, बिहीबार
  • 6104 पटक पढिएको


सन्तोष गौतम / म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वुद्धीका लागि उद्योग सञ्चालन गरेको बताउनुभयो ।

२७ वर्षिय पुनले बैदेशिक रोजगारीको विकल्पमा गाउँमै उद्यम, ब्यवसाय गरेर स्वरोजगार बन्ने लक्ष्य सहित उद्योग सञ्चालन गरेको बताउनुभयो । पाँच लाख रुपैया लगानी भएको दर्ता प्रक्रियामा रहेको उद्योगमा चार जनाले नियमित रुपमा रोजगारी पाएका छन् । जंगलमा लोत्ता संकलन, ढुवानी र प्रशोधनको काममा थप दश जना आवद्ध छन् ।

उद्योग सञ्चालन भएपछि देविस्थान, रुम, ओखरबोट, बिम, निस्कोट, ताकम, मुना, गुर्जा, मराङको जंगलमा वर्षौदेखि खेर गैरहेको लोत्ताको सदुपयोग भएको छ । लोत्ता बेचेर समुदायले आम्दानी गर्ने अवसर पाएका छन् । स्थानीयले जंगलमा संकलन गर्ने लोत्ता खरिद गरीदिने सञ्चालक पुनले बताउनुभयो ।

यही जेठ महिनादेखि सञ्चालन भएको उद्योगबाट दैनिक एक देखि तिन कोरी नेपाली कागज उत्पादन हुन्छ । तौल अनुसार प्रतिकोरी कागजको हालको बजार मूल्य आठ सय देखि छ हजार रुपैया सम्म पर्छ । सरकारी प्रशासनीक काममा प्रयोग हुने नेपाली कागजबाट फाईल, डायरी, नोटबुक, ल्याम्प सेट लगायतका सामाग्री समेत बनाउन सकिन्छ ।
मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले लघुउद्यम विकास रणनिती अनुसार कागज, अल्लो पुवा जस्ता स्थानीय स्रोत साधनमा आधारीत उद्यमलाई प्रर्वद्धन गरिने बताउनुभयो । सिपमुलक तालीम, अनुदानमा उपकरण वितरण जस्ता कार्यक्रम रहेका उपाध्यक्ष बिटालुले बताउनुभयो ।