नवआगन्तुक प्रनाउ मगरलाई स्वागत

  • ९ जेष्ठ २०७५, बुधबार
  • 1611 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, जेठ ९ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्रको आयोजनामा म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक विरबहादुर बुढा मगरलाई स्वागत गरिएको हो । 

कार्यक्रममा प्रनाउ बुढा मगरलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका पदाधिकारी, कार्यसमिति सदस्यहरु, सल्लाहकार, प्रहरी जवान लगायतले अबिर लगाई र फुल दिएर स्वागत गरेका थिए । स्वागतपछि बोल्दै नवआगन्तुक प्रहरी नायव उपरीक्षक विरबहादुर बुढा मगरले सामाजिक बिकृति, विसङ्गति न्युनीकरण गर्न जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्नुपर्ने बताए ।

उनले समाजमा सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी ढङ्गले लैजानुपर्ने भन्दै गैरकानुनी क्रियाकलाप भएको पाइएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन् । प्रनाउ बुढा मगरले सरोकारवाला निकायसँग मिलेर समुदायस्तरमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने बताए । कार्यक्रममा बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले लागूऔषध तस्करीको जालो गाउँगाउँसम्म पुगेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

सामुदायिक सेवा केन्दका सल्लाहकार अमृतदेवी बानियाँले विषम परिस्थितिमा संस्थाको स्थापना गरिएको बताउँदै सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बताइन् । कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका अध्यक्ष विष्णु गुरुङको अध्यक्षता, उपाध्यक्ष डेकबहादुर सुनारको स्वागत र सचिव लक्ष्मण केसीको सञ्चालनमा सम्पन्न भएको छ । संस्थाले निकट भविष्यमै प्रहरी, जनप्रतिनिधिसँग समन्वय गरी सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।