बिस्फोटक पदार्थ प्रयोग गरि अजिंगर भिरमा सडक बनाउन सुरु

  • ९ जेष्ठ २०७५, बुधबार
  • सन्तोष गौतम
  • 4291 पटक पढिएको

दग्नाम ९ जेठ । रघुगंगा गाउँपालिका ४ मा पर्ने अजिंगर भिरमा सडक निर्माण गर्न बिस्फोटक पदार्थको प्रयोग गरिएको छ । अजिंगर भिर म्याग्दीको सबै भन्दा कठिन र जटिल पहाड मानिन्छ । दग्नाम दर्मीजा मोटरबाटो उपभोक्ता समितिले वडा, गाउँपालिका, प्रशासनको अनुमती लिएर नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माण सुरु गरेको हो । अक्करे भिरमा एक्साभेटर लगायतका उपकरण र जनशक्ति परिचालन गरेर काम गर्न नसकेपछि बिस्फोटक पदार्थ प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण गर्बुजाले बताउनुभयो ।

दग्नामबाट अजिंगर भिरसम्म पुगेको सडक निर्माण कार्यलाई अघि बढाउन बिस्फोटक पदार्थ प्रयोग गरिएको हो । बुधबार करिब साढे तिन सय थान डेटोनेटर र जिलेटीन बिस्फोट गराइएको थियो । बिस्फोटक पदार्थ प्रयोग गरेर पहाड फुटाउने र सडक बनाउने कामलाई निरन्तरता दिने अध्यक्ष गर्बुजाले बताउनुभयो । पहाडमा छिटो र सहज रुपमा काम गर्न बिस्फोटक पदार्थ प्रयोग गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा यो सडक आयोजनालाई ७९ लाख रुपैया बिनियोजन गरेको छ । दवाङ भिरमा पहाड फुटाउने र अन्य ठाउँमा दश मिटर फराकीलो बनाउने काम सकीएको छन् ।

दरवाङ भिरदेखि अजिंगर भिरसम्मको सडकलाई दश मिटर फराकीलो बनाइएको छ । सडक फराकीलो बनाउन गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले चुनावमा गरेको घोषणा अनुसार व्यक्तिगत रुपमा दश लाख रुपैया बराबरको सहयोग गरेको बताउनुभयो । ईन्धन खरिद, ढुवानी, एक्साभेटर चालकको भत्ता र खानाका लागि वडाले बाह् लाख रुपैया बिनियोजन गरेको थियो । मेसीनरी, ग्यावियन पर्खाल र आरसीसी ढलानको काम बाँकी छ । हाल बेनी देखि दग्नामसम्मको १२ किलोमिटर सडकमा सिधा सवारी सञ्चालन हुने गरेको छ ।

रघुगंगाको उपल्लो क्षेत्रमा पर्ने दग्नाम, चिमखोला र कुईनेमंगलेका तिन वटा वडालाई केन्द्रसंग जोड्ने यो सडकलाई गाउँपालिकाले गौरवको आयोजनाको रुपमा अघि बढाएको अध्यक्ष भण्डारीले बताउनुभयो । चिमखोला तर्फबाट यस वर्ष बिनियोजन भएको अठार लाख रुपैया बजेटबाट दर्मीजा तर्फ तिन किलोमिटर ट्याक खोलीएको छ । कडा चट्टानी पहाडयुक्त भुगोलमा सडक निर्माणका लागि प्रदेश र संघीय सरकारसंग योजना माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईले बताउनुभयो ।

अजिंगर भिरदेखि दर्मीजाबाट चिमखोला जाने बाटोमा पर्ने भिरसम्म करिब पाँच तिन किलोमिटर सडक निर्माण गर्न पहाड फुटाउनुपर्ने देखिएको छ । जसका लागि कम्तीमा पाँच करोड रुपैया बजेट आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।

सन्तोष गौतम