ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने

  • ९ जेष्ठ २०७५, बुधबार
  • गोपाल आचार्य
  • 4755 पटक पढिएको

ताकम ९ जेठ । धौलागिरी गाउँपालिका ७ मा अवस्थित ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने भएको छ । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा मंगलबार कोत परिसरमा भएको सरोकारवालाहरुको भेलाले बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय गरेको हो ।

पुरातत्व बिभागको अनुमती लिएर जिर्णोद्धार वा पुननिर्माणको काम सुरु गरिने वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । ऐतिहाँसीक महत्वका हात हतियार, मुर्ती, भाडाँकुडाहरु रहेको मन्दिरको भित्री संरचना र स्वरुपलाई यथावत राखेर पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय भएको छ ।


पुननिर्माण र जिर्णोद्धारका लागि वडा अध्यक्ष सुवेदीको अध्यक्षतामा तेजेन्द्र थापा उपाध्यक्ष, होमबहादुर थापा सचिव, जगतबहादुर थापा कोषाध्यक्ष, तेजिन्द्र थापा सहसचिव, अनिष भण्डारी, खुमनाथ सुवेदी, रामजी मल्ल, सकेन्द्र छन्त्याल, खिमबहादुर सुन्चौरी, टेकबहादुर फगामी, वडा सदस्य नरकुमारी बुढाथोकी, बालकुमारी बिक, अमृता भण्डारी, देवबहादुर थापा सदस्य रहनुभएको समिति गठन भएको छ ।

गाउँपालिका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, धौलागिरीका सातै र मालिका गाउँपालिका ५ देविस्थानका वडा अध्यक्षलाई समेटेर सल्लाहकार समिति गठन भएको छ । पहिलो चरणमा जिर्णोद्धार तथा पुननिर्माणको काम अघि बढाउन समुदाय र प्रवासीबाट दश लाख रुपैया भन्दा बढी सहयोग संकलन भएको छ ।

आर्थिक स्रोत जुटाउन अमेरीकामा रघुनाथ सुवेदी, अस्टे«लीयामा खगेन्द्र थापा, जापानमा काजी थापा र ज्ञानेन्द्र थापा, स्वीजरल्याण्डमा कमल केसी, बेल्जीयममा ज्ञानबहादुर विश्वकर्मा, कोरीयामा सुनेश केसी, न्युजील्याडमा चक्र थापा र भरत घर्ती, बेलायतमा सुवर्ण थापा र बहराईनमा राजाराम सुवेदीलाई संयोजकको जिम्मेवारी तोकीएको छ ।


प्राबिधिकहरुको प्रारम्भिक अध्ययन अनुसार कोतको पुननिर्माण, जिर्णोद्धार र पूर्वाधार निर्माणका लागि एक करोड रुपैया लागत अनुमान गरिएको छ । ताकम कोतलाई गाउँपालीकाको साझा सम्पत्तीको रुपमा लिएर गाउँपालिका, प्रदेश र संघीय सरकारबाट समेत बजेट व्यवस्थापनका लागि पहल गरिएको उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।

ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सडक र देउराली देखि कोतघरसम्म करिब तिन सय मिटर रेलीङ सहितको पक्कि पदमार्ग निर्माणको तयारी गरेको छ । समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य सञ्चालन गरेको ईतिहाँस छ । ताकम कोत परिसरबाट गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनरोम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

कोत परिसरमा रहेको जगन्नाथ मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती छन् । पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा पुजाआजा र भाकल गरि बली चढाउन भक्तजनको घुईचो लाग्ने गर्छ ।

कोत घरमा ऐतिहाँसीक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हात हतियार छन् । सुरुङ्ग, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत ईतिहाँसका थुप्रै साक्षी हुन् ।

गोपाल आचार्य