सुध्रिएनन् बेनीका मासु पसल, गुणस्तरहिन मासु बेच्दै

  • ८ जेष्ठ २०७५, मंगलवार
  • 4891 पटक पढिएको

प्रताप बानियाँ / म्याग्दी, ८ जेठ । पटकपटक अनुगमन गरेर सचेत हुन आग्रह गरे पनि म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका मासु पसलहरु अझै सुध्रिन सकेका छैनन् । सोमबार बेनी नगरपालिका कार्यालयको आयोजना र पशु सेवा शाखाको वार्षिक कार्यक्रम अनुसार गरिएको अनुगमनका क्रममा बजारमा रहेका मासु पसलको हालत पुरानै अवस्थाको रहेको पाइएको छ ।
विगतमा जिल्ला पशु सेवा कार्यालय म्याग्दी, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता संघ, म्याग्दी उद्योग वाणिज्य संघ र पत्रकार लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरी सचेत हुन खबरदारी गरेको भए पनि मासु पसल नसुध्रिनुले उपभोक्ताको स्वास्थ्यमाथी नै गम्भीर खेलवाड भैरहेको भेटिएको छ । सरोकारवाला निकाय र संघसंस्थाले दिएको सुझावलाई लत्याउँदै मासु व्यवसायीहरुले जथाभावी रुपमा आ–आफ्नै पाराले अटेर गरेर व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।


सोमबार बेनीबजारस्थित हुलाकचोक, बैंकरोड, सङ्गमचोक, गणेशटोल, क्याम्पसचोक, पिपलचोक, हस्पिटलचोक, शिक्षामार्ग लगायतका ठाउँमा सञ्चालनमा रहेका मासु पसलहरुको अनुगमन गरिएको छ । ती ठाउँहरुमा सञ्चालित कुखुरा, खसी, भैंसी, बङ्गुरसहित २३ ओटा मासु पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मासु पसलहरुमा मासुको मुल्यसूची नराखिएको, एउटै मासुको पनि पसल अनुसार फरकफरक मुल्य रहेको, म्याद नाघेका मासु बिक्रीका लागि राखिएको जस्ता कमजोरीहरु भेटिएका छन् । यसैगरी मासु पसलमा फ्रिजको व्यवस्था नभएको, पशुपंक्षीको स्रोत खुल्ने कुनै किसिमका कागजातहरु नभएको अवस्थामा मासु राखिएको पाइएको छ ।


त्यस्तै बिक्रेताको हातमा पन्जा, शरिरमा एप्रोन र मुखमा माक्स नलगाएको, भिœयाँस मासु र योग्य मासु सबै एकै ठाउँमा राखिएको, सरसफाई नभएको, खसी र कुखुराको मासु एउटै ठाउँमा राखेको जस्ता कमजोरीहरु पाइएको अनुगमन टोलीले जनाएको छ । मासु काट्ने हतियार तथा अचानो सबै मासु काट्दा एउटै प्रयोग गर्ने गरेको, सरसफाइको कमी, साइनबोर्ड नराखिएको, दर्ता नवीकरण जस्ता कानुनी प्रक्रिया पुरा नगरेको जस्ता कमजोरी समेत भेटिएका छन् । कतिपय मासु पसलहरुमा सबै प्रकारका मासुहरु एकै ठाउँबाट बिक्री गर्ने गरेको पनि बताइएको छ ।

अधिकांश मासु पसलहरु न्युनतम मापदण्डमा पनि नपुगेको पाइएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठले बताए । उनका अनुसार धेरै मासु पसलमा डि–फ्रिज अफ गरेर राखिएको र हात धुने व्यवस्था समेत नभएको पाइएकाले यसलाई कडाइका साथ लागू गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन् । अनुगमन टोलीले मासु पसलको अवस्था नसुध्रिएको खण्डमा अर्कोपटक जफत गर्ने र कानुन बमोजिम कार्वाही गर्ने बताएको छ । ऐन कानुनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा पनि समस्या ज्युँका त्युँ कायमै रहेको छ ।


यता मासु व्यवसायीहरुले भने आफूहरुले कानुनी प्रक्रिया पुरा गरेरै पसल सञ्चालन गरेको बताउँदै सरकारी निकायबाट पाउने सेवासुविधाबाट बञ्चित भएको गुनासो गरेका छन् । अनुगमन कार्यक्रममा डा. श्रेष्ठसहित बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषाल, वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, जिल्ला प्रशासन र प्रहरी कार्यालयका प्रतिनिधि, पशु कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।