धौलागिरी आधार शिवीरको फोहोर हटाइयो (फोटो फिचर)

  • ८ जेष्ठ २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 3084 पटक पढिएको

म्याग्दी ८ जेठ । संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिवीरको फोहोर हटाइएको छ । धौलागिरी गाउँपालिका ४ बगर गाउँका बासिन्दाले आरोही, पदयात्री, पर्यटक मजदुर, भरीया र तिनका सहयोगीले फालेका फोहोरलाई ब्यवस्थापन गरेर आधार शिवीरको सरसफाई गरेका हुन् । धौलागिरी आधार शिवीरमा बर्षौदेखि थुप्रिएको फोहोर ईटली आधार शिवीर नजिकै ल्याएर व्यवस्थापन गरिएको हो ।

गाउँपालिकाको ८ लाख रुपैया अनुदान सहयोग र स्थानीय बासिन्दाको एक लाख दुई सय रुपैया बराबरको श्रमदानमा १५ हजार किलोग्राम कुहिने र नकुहिने फोहोर आधार शिवीरबाट हटाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलीजाले जानकारी दिनुभयो । ईटली आधार शिवीर नजिकै दुई वटा खाडल खनेर कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै ठाउँमा व्यवस्थापन गरिएको छ ।

आधार शिवीरमा फोहोर संकलन र संकलित फोहोर ईटली आधार शिवीरसम्म ढुवानी गर्न एक महिनासम्म दैनिक ३० जनाका दरले मजदुर परिचालन गरिएको थियो । कपडा, ग्याँस सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा अधार शिवीरमा यत्रतत्र छरिएका थिए । तयारी खाना र खाजा प्याकीङ गरेर लगिएका बट्टा, पलास्टिक, प्याकेट, सामान बोक्ने डोका, कपडा, खादा जस्ता फोहोरले आधार शिवीरलाई कुरुप बनाएको थियो ।

हेलिकप्टर मार्फत पु¥याईएका टायर, धातुका सामाग्री र आरोहणमा प्रयोग गरिएका सामानको व्यवस्थापन नहुँदा फोहोर र प्रदुषण बढेपछि समुदायको पहलमा सरसफाई गरिएको हो । आरोहण समूह र पदयात्रीहरुले भरिया र खच्चर मार्फत आधार शिवीर सम्म सामान पु¥याएपनि त्यही छाडेर फर्कने गरेका छन् ।

अत्याधिक चिसो भएकाले आधार शिवीरमा फोहोर कुहीने सम्भावना हुदैन् । जथाभावी रुपमा फालीएको फोहोरका कारण पछिल्लो समय आधार शिवीर प्रदुषित बन्नुका साथै क्याम्पीङ गरेर बस्नका लागि असहज भएको थियो । फोहोर हटाइएपछि आधार शिवीरको सरसफाईमा सुधार भएको कैलाश आधारभुत विद्यालय बगरका प्रअ धनबहादुर पुर्जाले बताउनुभयो ।

धौलागिरी आधार शिवीरमा आरोही, पदयात्री, पथप्रर्दशक र पर्यटन मजदुर गरी वार्षिक दुई हजार जनाको हाराहारीमा पुग्ने गरेका छन् । नजिकैको बस्ती बगर गाउँदेखि पाँच दिनको पैदलयात्रा पछि पुगीने आधार शिवीरमा लगिएको फोहोर फिर्ता गर्न ढुवानी खर्च बढी लाग्ने भएकाले त्यही छाडेर फर्कने गरेका हुन् ।

जल्ने र नजल्ने सबै फोहोरलाई आगो लगाउने र यत्रतत्र फालेर फर्कने गरेका छन् । हिमालका आधार शिवीरमा जाने पदयात्री र आरोहीहरुले त्यहाँ लैजाने फोहोर जन्य सामान सुरक्षित ठाउँमा व्यवस्थापन गर्नुपर्ने नितीगत ब्यवस्था कार्यान्वयन हुन सकेको छैन् ।

पर्यटन मन्त्रालय र समुदायसंग समन्वय गरेर हिमालमा फोहोर गर्न नपाउने नितीगत ब्यवस्था कार्यान्वयनमा कडाई गरीने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । धौलागिरी चक्रिय पदमार्गमा समेटिएका मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिका संग समन्वय गरेर चेकपोष्ट स्थापना गर्न पहल गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

सन्तोष गौतम