ट्याङकी बन्यो, पानी आएन

  • ७ जेष्ठ २०७५, सोमबार
  • गोपाल छन्त्याल
  • 1717 पटक पढिएको

मुक्तिनाथ  । पवित्र धार्मिकस्थल मुक्तिनाथ आसपास रानीपौवा र पुराङ गाउँमा एकसय २० घरधुरी वशोवाश छ । साना ठुला गरि २० भन्दा बढी त होटल नै सञ्चालित रहेका छन् । तर, पानीको अभावमा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । भारतीय राजदुताबासको सहयोगमा एक करोड ३ लाख रुपैयाँमा खानेपानी आयोजना सुरु भएपनि त्यसले पूर्णता नपाउँदा उनीहरु समस्यामा छन् । राजदुतवासले जिल्ला विकास समिति मार्फत २०७२ जेठ देखि सुरु गरेको आयोजना अन्र्तगत रानीपौवा गाउँ माथि एक हजार घनलिटर क्षमताको दुईवटा ट्याङकी निर्माण गरेको छ । दुबै ट्याङकीको तत्कालीन भारतीय राजदुत रणजित रायले उद्घाटन गरिसकेका छन् ।

ट्याङकी बनेपनि मुलबाट ल्याउने र ट्याङकीबाट बस्तीमा वितरण गर्ने पाइपलाइन जडान नहुँदा दुईबर्ष देखि आयोजना अलपत्र बनेको स्थानीय छिरिङ धावा गुरुङले जानकारी दिए । ‘राजदुत ज्यूले उद्घाटन गर्ने बेलामा पनि हामीले पानी नै खाना पाएका छैनौँ, किन अहिले नै उद्घाटन गर्ने भन्यौँ, बस्तीसम्म पाइपलाइन विस्तार गर्नुपर्ने भनेर जिविस हुदै पत्र पनि पठायौँ’, उनले भने, ‘तर, अहिलेसम्म सुनुवाई भएन, ट्याङकी बनेपनि पानी आउँदैन ।’

मुक्तिनाथ नजिकै रहेको जलमाइको पानी र रानीपौवाबाट करिब ८ सय मिटर माथि हिमालको फेदी घोचुङ्गबाट पानी ल्याएर छुट्टाछुट्टै ट्याङकीमा जम्मा गर्ने र वितरण गर्ने योजना स्थानीयलाई सुनाईएको थियो । रानीपौवा र पुराङ गाउँको घरघरमा धारासँगै भारतीय सहयोगमै बनेको धर्मशालामा समेत एक वटा धारा निर्माण गर्ने योजना थियो । ठेक्का प्रक्रियाबाट एडभेञ्चर कन्ट्रक्शन र इञ्जिनियरिङ कन्ट्रक्शन जेभीले ९५ लाख ४८ हजार रुपैयाँमा खानेपानी आयोजना निर्माणको जिम्मा लिएको थियो ।

एडभेञ्चर जेभीले २०७२ जेठ २१ गते १५ महिनाभित्र सम्पन्न गर्ने गरि जिविससँग सम्झौता गरेको उल्लेख छ । ‘ठेकेदारले आयो काम ग¥यो, ट्याङकी बनाएपछि हाम्रो काम सकियो भन्दै गयो, घरमा पानी विस्तारको काम अर्को चरणमा होला भन्यौँ’, अगुवा गुरुङले थपे, ‘तर, बनेको ट्याङकीहरु जीर्ण हुन लागीसक्यो अझसम्म पानी खान पाएनौँ ।’ रानीपौवा र पुराङ गाउँमा ५ वटा सार्वजनिक धारा छन् । त्यसका स्थानीय बिहानै देखि लाइनमा बसेर पानीको जोहो गर्नुपर्ने बाध्यता छ ।

३ वटा सार्वजनिक धारा त जीर्ण भइसकेका छन् । लाइनमा बसेर पानी व्यवस्थापन गनुपर्दा ग्राहकलाई पर्याप्त पानी पुर्‍याउन नसकेको होटल व्यवसायी सुरज गुरुङको भनाई छ । मुक्तिनाथमा एक बोटल मिनिरल पानीलाई एकसय २० रुपैयाँ पर्छ । ‘बिहान–बेलुकी पाहुनाले नुहाउने पानी पुर्‍याउनै सकस हुन्छ, होटलहरुलाई अलि बढी समय मिलाएर पानी लिने व्यवस्था भएपनि समस्या छ’, व्यवसायी गुरुङले भने, ‘पानी र हिउँ पर्दा छडमा जम्मा गरेर पाहुनालाई नुहाउने पानी पुर्‍याउने गरेका छौँ ।’

जिविस देखि राजदुतावास सम्म यसबारे जानकारी गराए पनि सम्बोधन नभएको उनको भनाई छ । वरागुङमुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष धारा गुरुङले जिल्ल समन्वय समिति हुदै राजदुतावाससँग यसबारे कुरा गर्ने बताए । ‘योजना अलपत्र छ, राजदुतावासले नगर्ने हो भने बाँकी काम गाउँपालिकाले गर्नुपर्ने हुन्छ’, उनले भने, ‘कसरी गर्ने भन्नेमा अर्को आर्थिक बर्षमा टुँगो लगाउँछौँ र काम गर्नेछौँ ।’

गोपाल छन्त्याल