बगरफाँटको नदी नियन्त्रण योजनामा अपारदर्शीताको गन्ध

  • ६ जेष्ठ २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2706 पटक पढिएको

 

 


बेनी ६ जेठ । जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँट र वारीबेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि उपभोक्ता समिति मार्फत सञ्चालित योजनामा अपारदर्शी गतिबिधि, ढिलासुस्ती र लापरबाही भएको स्थानीयबासीले गुनासो गरेका छन् ।जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन कार्यालय बाग्लुङसंग योजना निर्माणको सम्झौता गरेका उपभोक्ता समितिका पदाधीकारीहरुले कमिसनको खेलमा ठेक्कपट्टामा लागेर समयमै गुणस्तर अनुसारको काम नगरेको स्थानीयबासीले गुनासो गरेका छन् ।

स्थानीयको जनसहभागीता जुटाएर गर्नुपर्ने काम उपभोक्ता समितिका नातेदार र पदाधीकारीले ठेक्काको शैलीमा गरिरहेका छन् । जुन गतिबिधी उपभोक्ता समिति सम्बन्धि नितीगत ब्यवस्था विपरीत हो ।उपभोक्ता समितिका पदाधीकारी र जिम्मेवारी लिएका व्यक्तिको लापरबाहीका कारण नदी नियन्त्रण जस्तो संवेदनशिल योजनामा ढिलाई भएर बाढीको जोखिम बढेको बगरफाँटका बासिन्दा हिराबहादुर बरुवालले बताए ।

कालीगण्डकीमा पानीको बहाब बढेपछि किनारमा डोजर लगाएर जग खनेर सुरु गरिएको कामले गति लिन नसक्दा समयमै काम सम्पन्न नहुने र बाढी आएर कटान गर्ने जोखिम बढेको बरुवालले गुनासो गरे ।जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले उपभोक्ता समितिको ढिलासुस्तीले बस्ती कटानमा परेको स्थानीयबासीको तिब्र गुनासो आएपछि पदाधीकारीहरुलाई काममा तिब्रता दिन निर्देशन दिएको बताए । उपभोक्ता समितिका पदाधीकारीलाई छिटो काम गर्न दवाव र सचेत बनाएको अध्यक्ष मल्लले बताए ।

उपभोक्ता समितिका अध्यक्ष कृष्ण केसीलाई सम्र्पक गरेर आयोजनाको लागत र गर्नुपर्ने कामको परिणामको बारेमा जानकारी लिदा आफूलाई केही पनि जानकारी नभएको सबै काम सचिव मुकुन्द बैरागीलाई जिम्मा दिएको बताए ।वारीबेनीको काम गर्ने जिम्मेवारी लिएकाले काम गरेको जानकारी दिदै अध्यक्ष केसीले बगरफाँटको काम गर्ने जिम्मा लिएका सचिव बैरागीलाई छिटो काम गर्न ताकेता गरेको बताएका थिए । उनले आयोजनाको लागत र कामको परिणामको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिन खोजे ।

सचिव बैरागीले दुई ठाउँमा छ सय थान ग्याबियन जाली भर्ने काम भैरहेको र सम्झौता अबधि असार मसान्तभित्र काम सकिने प्रतिक्रिया दिनुभयो । नाफा खाने उद्देश्यले काम गरेको भन्ने आरोपको खण्डन गरे । सचिव बैगरागीका अनुसार ५६ लाख रुपैयामा सम्झौता भएको छ ।डिभिजन प्रमुख खगेन्द्र भट्टचनले आफू मुस्ताङ भएको बताउँदै पछि कुरा गर्ने भन्दै फोन राख्नुभयो । स्थानीयबासीले उपभोक्ता समिति र डिभिजनका प्राबिधिक मिलेर आर्थिक बर्षको अन्तमा बजेट सक्ने बाहनामा हतारमा काम गर्ने र बजेटको दुरुपयोग हुन सक्ने खतरा बढेको बताएका छन् ।

ठेक्का मार्फत भएको काम भने यसपाली छिटो भएको स्थानीयबासीले बताएका छन् । रामकृष्ण कन्ट्रक्सनका सञ्चालक प्रदिप सापकोटाले गुफाटोल स्थित नदी किनारमा पक्कि पर्खाल र बगरफाँटको सुरुमा ग्यावियन पर्खा लगाउने काम अन्तिम चरणमा पुगेको जानकारी गराए । तस्विरः धिरन खत्री

सन्तोष गौतम