मोहरेडाँडाको मोहनी

  • ६ जेष्ठ २०७५, आईतवार
  • धिरन खत्री
  • 3277 पटक पढिएको


म्याग्दी, ६ जेठ । पर्यटकिय स्थल मोहरेडाँडा आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको मोहनी बढ्दै गएको हो । समुद्री सतह देखि ३ हजार ३ सय मिटर उचाईमा घना बनजङ्गलको विचभागमा अग्लो चुचुरोमा अवस्थित मोहरेडाडाँमा आवश्यक भौतिक पदमार्ग तथा पुर्वाधारको विकासले पर्यटकको चाप बढेको हो ।


अन्नपुर्ण धौलागिरि सामुदायिक पर्याबरणीय पदमार्गको प्रमुख गन्तव्य रहेको मोहरेडाँडामा बार्षिक रुपमा पर्यटक बढदै गएका छन् । मोहरे डाडाँको पर्यटन विकासका लागि आवश्यक पुर्वाधार निर्माण गर्दा २०११ सालमा ११ जना पर्यटक पुगेका थिए भने २०१७ मा ९९८ जना पर्यटक सो ठाउँमा पुगेको अन्नपुर्ण धौलागिरि पर्यापर्यटन विकास तथा प्रवद्धन संस्थाका सचिव चित्रबहादुर पनले जानकारी दिए ।


प्राकृतिक सौन्दर्यतामा रमाउनका लागि उत्तम रहेको मोहरेडाँडाबाट धौलागिरि, सिस्ने, गुर्जा, माछापुच्छे, मनास्लु र अन्नपुर्ण जस्ता दर्जनौ बढी हिमालहरु र सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य हेर्न सकिन्छ । डाडाँबाट पोखरा बजार संगै फेवाताल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, पाल्पा लगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न सकिन्छ । घना गुरासे जंगल बिचमा रहेको मोहरे डाँडा बरीपरि पशुगोठ, जडिबुटी, चराचुरुङ्गी, आवाज र चौरी भेडाको बथान थपले पर्यटनको आकर्षण हो । गाउँपालिकाको नांगी, टिकोट र खिवाङ बासिन्दाले संचालन गरेको अन्नपुर्ण पदमार्ग मुख्य गन्तव्य मोहरेडाँडा हो । मोहरेडाडाँमा पुग्ने पर्यटकलाई लक्षित गरेर २० बेड भन्दा बढी क्षमताको सुविधायुक्त लज संचालन भएको छ । सो क्षेत्रमा ईन्टरनेट सुविधापनि पुगेको छ ।


म्याग्दी उद्योग वाणिज्य संघले आगामी बर्ष २०७५ साललाई म्याग्दी भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहदाँ ३३ मिटर उचाईमा रहेका मोहरेडाँडामा सदरमुकाम बेनी देखि एक दिनमा पुग्न सकिन्छ । अन्नपुर्ण गाउँपालिको नागी, घोडेपानी, कास्कीको उल्लेरी र पर्वतको लेकफाँट सल्यान हुदै सो क्षेत्रबाट पनि जान सकिन्छ । हिमशृखलाका दृष्य, ठुलठुला बनजङगल, विभिन्न प्रजातीका चराचुरुङगी र बन्यजन्तु पदमार्गमा देखिनुको साथै उनीहरुको आवाजले आनन्द दिने हुदाँ सो ठाउँमा पुग्नका लागि कुनै कठिनाईको अनुभव हुदैन । मोहरेडाँडामा सामुदायिक लजको विकाससंगै ईन्टरनेट तथा फोन सुविधाको विकास महाविर पुनको सक्रियतामा निर्माण गरिएको हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l