पत्रकारीता तालीम सम्पन्न

  • ६ जेष्ठ २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2435 पटक पढिएको

मुना, ५ जेठ । धौलागिरी गाउँपालिका ३ मुनामा शनिबार आधारभुत पत्रकारीता तालीम सम्पन्न भएको छ । धौलागिरि गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको दुई दिने तालीममा पालिकाको सात वटै वडाका २४ जनाको सहभागिता रहेको थियो ।

पत्रकारीताको माध्यमबाट ग्रामिण क्षेत्र सम्भावना, समस्या पहिचान, उजागर र स्थानीय तहका गतिबिधी, विकास निर्माणलाई सञ्चार माध्यमको पहुँचमा ल्याउने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।

तालीमको समापनका क्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सामाजिक रुपान्तरण, विकास, शुसासन, पारदर्शीता र सम्बृद्धीका लागि बस्ती बस्तीमा पत्रकारीताको माध्यमबाट जागरण ल्याउनुपर्ने बताउनुभयो ।

विकास र सामाजिक जागरणका लागि पत्रकारीता क्षेत्रसंगको सहकार्यलाई निरन्तरता दिने उपाध्यक्ष छन्त्यालले प्रतिवद्धता जनाउनुभयो । पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले राज्यको पुनसंरचनासंगै पत्रकारीता र सञ्चार माध्यमको पहुँच ग्रामिण क्षेत्रसम्म पुर्‍याउन तालीम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका शाखा अध्यक्ष तारानाथ शर्माको अध्यक्षता र सचिव गोरखनाथ सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी चनदेवी पाईजा र रासबहादुर बिकले सिकेको सिपलाई ब्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो ।

शुक्रबारदेखि सुरु भएको तालीमको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, महासंघका अध्यक्ष शर्मा, प्रदेश सदस्य सन्तोष गौतम, उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, सचिव सुवेदी, कोषाध्यक्ष हरिकृष्ण गौतम, सहसचिव कमल खत्री, संस्थापक अध्यक्ष खड्का र प्रदेश पार्षद निर्मल खत्रीले सहजिकरण गर्नुभएको थियो ।

पत्रकारीता र सञ्चार माध्यमको परिचय, महत्व, समाचार, लेखन शैली, समाचारका स्थानीय बिषयबस्तु, सम्प्रेषण गर्ने तरीका र गाउँपालिकाको योजना, निती तथा कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा सहजिकरण गरिएको थियो ।

सन्तोष गौतम