मल्लाज स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना

  • ६ जेष्ठ २०७५, आईतवार
  • प्रताप बानियाँ
  • 2099 पटक पढिएको

म्याग्दी, ५ जेठ  । उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा अवस्थित मल्लाज स्वास्थ्यचौकीमा शनिबार प्रयोगशाला स्थापना भएको छ । जलजला गाउँपालिका र वडा नम्बर–३, को आर्थिक सहयोगमा स्थानीयस्तरमा सर्वसाधारणलाई सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रयोगशाला सञ्चालन गरिएको हो ।

गाउँपालिकामार्फत कर्मचारी व्यवस्थापन र वडा कार्यालयबाट प्रयोगशालाका लागि आवश्यक मेशिनरी र केमिकललगायत सामान खरिदमा सहयोग प्राप्त भएपछि प्रयोगशाला स्थापना गरी सञ्चालन गरिएको स्वास्थ्यचौकीले जनाएको छ । हालै स्थापना गरिएको उक्त प्रयोगशालामा कल्चर सेवाबाहेक रगत तथा दिसापिसाब परीक्षण लगायतका स्वास्थ्य सेवासुविधाहरु उपलब्ध रहेको छ ।

मल्लाज स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउनका लागि सेवा थप गरिएको बताइएको छ । प्रयोगशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले स्वास्थ्य नै मानवको सबैभन्दा ठूलो धन भएको बताएका छन् । उनले स्वास्थ्य नै अन्य विकासको पनि आधार भएको बताउँदै स्वास्थ्यका क्षेत्रमा आफू संवेदनशील रहेकाले आगामी दिनमा गाउँपालिकामार्फत थप सहयोग गरिने बताएका थिए ।

कार्यक्रमको अवसरमा यसअघिको स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई स्वास्थ्यचौकी सञ्चालक समितिमार्फत सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्यचौकी व्यवस्थापन समितिका पूर्व अध्यक्ष लालबहादुर अधिकारी, जलजला–४ का वडा सदस्य पदम नेपाली, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि बाबुराम कार्की, विद्याज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक रघुनाथ आचार्य, स्थानीय युवा नवीन जिसी र महिला स्वास्थ्य स्वयंसेविका तुलसी पौडेलले मन्तव्य राखेका थिए ।

कार्यक्रम वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवि)को अध्यक्षता, स्वास्थ्यचौकी सञ्चालक समिति सदस्य चित्रराज रेग्मीको स्वागत र हेल्थपोष्ट इन्चार्ज गोरे नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । कुल ८ जना कर्मचारीहरु कार्यरत रहेको मल्लाज स्वास्थ्यचौकीमा दैनिक ३५ देखि ४५ जना बिरामीहरु आउने गरेका छन् । स्वास्थ्यचौकीमा २४सै घण्टा प्रसुती सेवा उपलब्ध रहेको मल्लाजबाट अनमी डेकमाया केसीले जानकारी दिएकी छिन् ।

प्रताप बानियाँ