मदन–आश्रितको हत्या षड्यन्त्रपूर्वक

  • ३ जेष्ठ २०७५, बिहीबार
  • प्रताप बानियाँ
  • 3128 पटक पढिएको

म्याग्दी, ३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको हत्या षडयन्त्रपूर्वक भएको बताइएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले बिहीबार सदरमुकाम बेनीमा आयोजना गरेको २५औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बोल्ने वक्ताहरुले दासढुङ्गा हत्या षड्यन्त्रपूर्ण तरिकाले गरिएको बताएका छन् ।

‘माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्दप्रसाद पौडेलले मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रमूलक ढङ्गबाट हत्या गरिएको बताए । उनले एमाले र माओवादीबीच भएको पार्टी एकताले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउने बताएका छन् ।

नेकपा एमालेका पूर्व अञ्चल कमिटी सचिव नवराज शर्माले बहुसङ्ख्यक जनताको हित गर्ने कम्युनिष्ट पार्टीहरु पटकपटक जनताबाटै अनुमोदन हुनुपर्ने बताए । उनले दासढुङ्गा दुर्घटनामा मदर–आश्रितको हत्या गरिएको भन्दै सवारीचालक अमर लामाको समेत हत्या गरिनु ठूलो षड्यन्त्र रहेको बताएका थिए ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पनि मदन भण्डारी र जीवराज आश्रितको हत्या नै गरिएको बताएका छन् । उनले नेपाली जनताको अपेक्षा र देशको आवश्यकता अनुसार कम्युनिष्ट पार्टीबीच भएको एकताले नयाँ सन्देश दिएको भन्दै अब वामपन्थीको नेतृत्वमा मुलुक समृद्ध बन्ने बताए ।

कार्यक्रममा स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको तस्विरमा माल्यार्पण समेत गरिएको थियो । प्रदेश नम्बर ४ सदस्य विनोद केसी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रम एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र केसीको स्वागत र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रताप बानियाँ