धौलागिरिको फेदीमा ‘होटल व्यवसाय’(फोटो कथा)

  • १ जेष्ठ २०७५, मंगलवार
  • कमल खत्री
  • 2662 पटक पढिएको

म्याग्दी, १ जेठ । वरिपरि हिमालले घेरिएको छ । बिचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाईको छ । पहाडको अगाडीपट्टीको पाखो सम्माएर बनाईएको मैदानमा हेलीकप्टरहरु ल्याण्ड हुन्छन् । रातमा त्यही मैदानमा पर्यटकहरु टेन्ट टाँगेर बास बस्छन् । यो दृष्य म्याग्दीको मुदीमा अवस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग अन्र्तगत ‘इटाली क्याम्प’को हो । धौलागिरि गाउँपालिका–४ बगराका हरि प्रसाद तिलिजाले करिब २५ बर्षदेखि यसै ठाउँमा होटल सञ्चालन गर्दै आएका छन् । हिमालको फेदीमा बर्षौदेखि होटल सञ्चालन गरेको सुन्दा अचम्म लागेपनि तिलिजाले भने आफ्नो जिवनको महत्वपूर्ण समय यसैमा खर्चिएका हुन् ।

यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न एक दिनको पदयात्रा गर्नुपर्छ । मुदीको अन्तिम मावन बस्ती जेल्टुङ देखि दुई दिनको पैदलदुरीमा रहेको इटाली क्याम्पसमा धौलागिरि पदमार्ग हूँदै आधार शिविर, चक्रिय धौलागिरि र धौलागिरि हिमालको आरोणको लागि भम्रणमा आउने पर्यटकहरुको सुविधाको लागि आफुले होटल सञ्चालन गरेको तिलिजाले बताए । चौफेरै हिमालले घेरिएको ईटाली क्याम्पमा तिलिजाले पर्यटकको लागि खाना खाने, बास बस्ने बन्दोबस्त मिलाएका छन् । समुन्द्री सतहदेखि ३ हजार ६ सय मिटर उचाईमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलमा ४० जनालाई होटलभित्रै बास बस्ने सुविधा रहेको छ ।

पर्यटकको चाहना र उपलब्ध सामाग्रीबाट खानाको बन्दोबस्त गर्दै आएका तिलिजाले क्याम्पिङ्ग गर्ने पर्यटकहरुको लागि समेत भिरालो पाखो सम्माएर मैदान बनाएका छन् । उनले बनाएका ५ वटा मैदानमा ३ सय जना सम्मले क्याम्पिङ गर्न सक्छन् । दिउँसो समयमा यिनै मैदानहरुमा हेलीकप्टरहरु ल्याण्ड हुने गर्छन् । हिमालको फेदीमा रहेको इटाली क्याम्प मुदी, बगरा, दोभान हुँदै पदयात्रा मार्फत पुग्ने पर्यटक तथा ताकम देखि हेलिकप्टर मार्फत पुग्ने पर्यटकहरुको लागि बास बस्ने र खाना खाने एक मात्रै होटल हो । पदमार्ग सहज नभएको कारण धेरै जसो पर्यटकहरु म्याग्दीको ताकम सम्म सवारी साधन मार्फत पुगेर त्यहाँबाट हेलिकप्टर हुँदै इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ जाने गरेका छन् ।

यस होटलको वरिपरि धौलागिरि १, मानापाथी, धौलागिरि २ , धौलागिरि ५, छेउवन पिक लगायतका हिमशृङ्खलाले घेरिएको छ । संसारको सातौ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आधार शिविर हुँदै धौलागिरिको फन्को मार्ने र हिमाल आरोहण गर्ने पर्यटकहरुलाई लक्षित गरि सञ्चालन गरेको होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आईसफलको दृष्य मनमोहक हुने त्यहाँ पुगेका आन्तरिक पर्यटक युवराज पौडेलले बताए । ‘‘ यति सुन्दर ठाउँमा पहिलो पटक आएको छु, यहाँ आउन जति कठिन छ, जति दुख हुन्छ, आईसकेपछि सबै थकान यहाँको प्राकृतिक सौन्दर्यताले मेटाईदिदो रहेछ’’– पौडेलले भने ।

उनले झण्डै एक सातासम्मको पदयात्राको क्रममा अधिकाँश समय सञ्चार पहँुचबाट टाढा रहँदा केही असहज भएपनि मनोरम प्राकृतिक सौन्दर्यतासंग नजीक भएर रमाउँदा नयाँ अनुभव भएको सुनाए । इटाली क्याम्पसम्म बोटविरुवा देखिने भएपनि त्यहाँदेखि माथि भने कुनैपनि बोटविरुवा देख्न पाइदैन् । इटालीदेखि माथिको अधिकाँश भुभाग हिमक्षेत्र र बर्षौदेखि हिउँ जमेर बनेको ग्लेसियरले ढाकेको छ । इटाली क्याम्पबाट वरिपरि घेरिएका हिमशृङ्खलाको मनमोहक दृष्यसंगै अग्ला पहाडबाट छङछङ गर्दै झर्ने झरना, डाँफे, मुनाल, मृग लगायतका जंगली पशुपंक्षिलाई नजीकबाट अवलोकन गर्न सकिन्छ ।

इटाली क्याम्पबाट मृगहरुको बथानलाई अवलोकन गरिरहेका बेनीका बालकृष्ण सुवेदीले नजीकबाट लोपउन्मुख जनावहरुलाई अवलोकन गर्न आउँदा खुसीको सिमा नरहेको अनुभव सुनाए । ‘‘ धौलागिरि आधार शिविर सम्म पुग्न नसक्ने पर्यटकहरुको लागि इटाली क्याम्पले नै भरपूर्ण मनोरञ्जन दिने रहेछ, वेस क्याम्प नै पुग्नको लागि समय, खर्च र आबश्यक बन्दोबस्त नभएकाहरु पनि यहाँसम्म सजिलै आउन सक्छन, यो ठाउँलाई केन्द्रित गरि पूर्वाधार निर्माण र प्रचार प्रसार आबश्यक देखियो’’– उनले भने ।

मानव बस्ती विहिन र सुचना र सञ्चारको पहुँच देखि धेरै टाढाको दुरीमा रहेको इटाली क्याम्पमा होटल सञ्चालक तिलिजाले अहिलेसम्म रु ४० लाख बढी लगानी गरिसकेका छन् । ‘‘ सुरुमा चौरवनमा खाजा पसल गरेँ, पर्यटकलाई भनेजस्तो सुविधा दिन नसकेपछि इलाटी क्याम्प आएर छाप्रो हालेर होटल सुरु गरेको थिए, होटल गरेदेखि अहिलेसम्म भएको सबै आम्दानी यसै होटलको क्षमता विस्तारमा खर्चिएको छु’’– तिलिजाले भने । उनले यहाँ डायनिङ हल, किचन, सौचालय, बाथरुम, आवासगृह लगायतका पूर्वाधार निर्माण गरेका छन् । पर्यटकको आगमन बढी हुने भदौदेखि मंसिर सम्म र फागुनदेखि जेठ सम्मको सिजनमा अन्य व्यक्तिहरुलाई समेत रोजगारि दिएर होटल सञ्चालन गर्दै आएको तिलिजाले बताए ।

धौलागिरि पदमार्गमा अहिले बर्षमा ४० देखि ५० समुहमा पर्यटकहरु पुग्ने गरेका छन् । उनले सोलार मार्फत विजुली बाल्दै आएका छन् । ‘‘ यहाँको सबै पूर्वाधार म आफ्नै लगानीमा गरेको हुँ, अहिले खानेपानीको समस्या भएको छ, पाईप उपलब्ध भए करिब एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजना छ,’’– उनले थपे । सञ्चारको पहुँच नहुँदा महंगो शुल्क लाग्ने स्याटेलाईट फोन सेवा समेत सञ्चालन गरेका तिलिजाको उक्त फोनले पर्यटकहरुलाई आफन्तसंग सम्पर्क गर्न र आपतकालिन समयमा उद्धारको लागि समेत सम्बन्धित निकायमा खवर पु¥याउन सहयोग गरेको छ । पर्यटनको सम्भावना उच्च भएपनि पदमार्ग, ठाउँ ठाउँमा होटल, सञ्चार सेवाको अभाब र प्रसार प्रसारको कमी भएकाले यस क्षेत्रमा यथेष्ट मात्रामा पर्यटक भित्र्न नसकेको राउण्ड धौलागिरि युवा क्लब बगराका अध्यक्ष डिल पुनले बताए ।

यस पदमार्ग अन्र्तगत अन्तिम मानव बस्ती बगरगाउँदेखि माथि पर्यटकहरुको सुविधाको लागि दोबानमा रुपा पुन, कृतबहादुर घर्तिले होटल चलाएका छन भने सल्लाघारीमा समलाल पुन र अमलाल पुनले टि सप र क्याम्प सञ्चालन गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण धौलागिरी पदमार्गमा पर्यटन पूर्वाधार निर्माण संगै सञ्चार र सुरक्षाको पहुँच बढाउन सकेमा यसले जिल्लाकै पर्यटन विकासमा फड्को मार्ने स्थानीयको अपेक्षा छ ।

देशका अन्य पदमार्गहरु सडकका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरी चक्रिय पदमार्ग सडकबाट टाढा रहेकाले साहसीक यात्राका लागि गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना रहेको धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन् । उनले यस बर्षदेखि धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहोर हटाउन बजेट विनियोजन गरेको बताउँदै क्रमिक रुपमा पूर्वाधार निर्माण र प्रचार प्रसारमा लाग्ने गाउँपालिकाको तयारी रहेको समेत बताइन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l