भुरुङ तातोपानीमा बाढीबाट १ करोड बढीको क्षती ( विवरण र भिडियो सहित)

  • १ जेष्ठ २०७५, मंगलवार
  • कमल खत्री
  • 2845 पटक पढिएको

म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको बाढीले पु¥याएको क्षतीको विवरण संकलन र पिडितहरुलाई राहत दिन सुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि ४ घरमा पूर्ण रुपमा र ११ घरमा आँशिक क्षती हूँदा करिब १ करोड बढी क्षती भएको हो । बाढीले घर पुरिँदा स्थानीय बालकृष्ण मिजारको करिब १३ लाख २० हजार बराबरको क्षती भएको छ । उनको घर सहित नगद, सुन र जुत्ता पसलका सामाग्री सबै पुरिँदा उक्त क्षती पिडित मिजारले बताउनभुयो । त्यसैगरि बाढीले होटल सञ्चालन गरेको घर पुरिँदा नगेन्द्र गिरीको रु १२ लाख बराबरको क्षती भएको छ ।

बाढीले घरभित्र पसेर पसल र होटलहरुको लाखौँ मुल्यको सामान र पूर्वाधारहरुमा क्षती पु¥याएको छ । बाढीबाट दशरथ कर्माचार्यको रु ७ लाख ५० हजार, उनकुमारी पुर्जाको ८ लाख, धावा तामाङको ३ लाख, गंगामान सुनारको ४ लाख, रजिया खातुनको २ लाख, टेकनारायण पौडेलको ७ लाख बराबरको क्षती भएको छ । त्यसैगरि गोविन्द पुर्जाको ५ लाख, टकु पुनको ३ लाख, प्रेम रन्तिजाको ४ लाख, देवेन्द्र भट्टचनको १० लाख, रिना शेरचनको रु १ लाख, पाल्टेन गुरुङको ९ लाख, सिताराम गुरुङको ५० हजार बराबरको क्षती भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । बाढीबाट घरबार विहिन भएकाहरु अहिले आफन्त र स्थानीयसंग आश्रय लिएर बसेका छन् ।

बाढी बस्तीसंगै खेतीयोग्य जमिनमा समेत पसेर सुन्तला र तरखारी लगाएको जमिन पुरिदिएको छ । यसैबिच बाढीबाट पिडित भएकाहरुलाई राहत र थप क्षती हुन नदिन पूर्वसतर्कताको काम सुरु गरिएको छ । बेमौसमी बाढीबाट पिडित भएका परिवारलाई राहत संगै बाढी नियन्त्रणको लागि काम सुरु गरिएको वडा अध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।

बाढी र पहिरो बस्तीमा आएर थुप्रिएकाले गाउँपालिका र वडा कार्यालयको समन्वयमा डोजर परिचालन गरि थुप्रिएको हिलो हटाउने, बाढी आएको खोल्सालाई पानी बग्न मिल्ने बनाउने र हिलो र ढुंगा थुप्रिएर अबरुद्ध बनेको गोरेटो बाटोलाई खुलाउने काम भैरहेको उहाँले बताउनभुयो । बाढीबाट पिडित भएकाहरुलाई सहयोग गर्न वडा कार्यालयले आह्वान समेत गरेको छ ।

बस्तीतर्फ सोझीएको बाढीलाई खोल्साबाटै बग्ने गरि निकास बनाउन र बाढीमा फसेका सामानहरुको खोजी कार्यमा नेपाली सेना, जनपथ प्रहरी र नेपाल प्रहरीको टोलीले श्रमदान गरि सहयोग गरेका छन् । बाढीले पूर्ण क्षती पुगेका ४ घरपरिवारको लागी तत्कालको खाना बस्नको लागि वडा कार्यालय र स्थानीयसंग समन्वय गरि व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l