जिल्ला विपद व्यवस्थापन समितिले बाढी पिडितलाई राहत उपलब्ध गराउने

  • १ जेष्ठ २०७५, मंगलवार
  • 2385 पटक पढिएको

बेनी १ जेठ । जिल्ला विपद् ब्यवस्थापन समितिको सोमबार साँझ बेनीमा बसेको बैठकले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आईतबारको बाढीले घर पूर्ण क्षत्ती पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक क्षत्ती पुगेका ११ परिवारलाई पाँच हजार रुपैयाका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढीको थप जोखिम न्युनीकरणको काम गर्न वडा कार्यालयले माग गरेको दुई सय थान ग्यावियन उपलब्ध गराउन जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन कार्यालय बागलुङलाई सिफारीस गरीएको सहायक प्रजिअ शोभाकर पोख्रेलले बताउनुभयो । जिल्ला प्रशासनको भण्डारणमा रहेको राहत सामाग्री विपद्को अवस्थामा तत्काल उपलब्ध गराउन ४० प्रतिशत राखेर बाँकी ५ वटा गाउँपालिकालाई उपलब्ध गराउने र एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको छ ।

जिल्ला भित्र विपद्को बेला तत्काल उद्धार र राहतको लागि अल्पकालिन र दिर्घकालीन प्रतिकार्य योजनालाई परिमार्जन गरी सोही अनुसार रणनिती बनाई कार्यान्वयन गर्ने निर्णय भएको छ । प्रदेशसभा सदस्य बिनोद केसीको समेत उपस्थितीमा बसेको बैठकले बाढीको उद्धार कार्यमा संलग्न स्थानीयबासी, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, रेडक्रसकर्मी, अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

भुरुङ तातोपानी बजारको माथि रहेको टिम्लाखर्क खहरेखोलाबाट आईतबार दिउँसोको भिषण बर्षापछि आएको बाढीले बालकृष्ण मिजार, लटे गिरी, देवलकुमारी कर्माचार्य र देवेन्द्र भट्टचनको घरटहरामा पूर्ण क्षत्ती गरेको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।यसैगरी दशरथकुमार कर्माचार्य, धावा तामाङ, रजिया खातुन, टेकनारायण पौडेल, गोबिन्द पूर्जा, टकु पुन, रिता शेरचन, पाल्टेन गुरुङ, सिताराम गुरुङ, प्रेम रन्तिजा, गंगमान सुनार समेत गरी ११ जनाको घर टहरामा भलबाढी पसेर आंशिक क्षत्ती पु¥याएको छ ।

बाढीले एक करोड रुपैया भन्दा बढीको क्षत्ती पुगेको प्रहरीले अनुमान गरेको छ । थप बाढीको जोखिम रहेकाले रोकथामको काम गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभएको छ । बाढी नियन्त्रणको दिगो योजनाका लागि प्रदेश र संघीय सरकारसंग माग गर्ने प्रदेशसभा सदस्य बिनोद केसीले बताउनुभयो ।