रघुगंगा गाउँपालिकामा भवन निर्माणको लागि जग्गा सम्याउने काम सुरु

  • ३१ बैशाख २०७५, सोमबार
  • कमल खत्री
  • 3320 पटक पढिएको

म्याग्दी, ३१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले भवन निर्माणको लागि जग्गा सम्याउने कामको सुरुवात गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित कुखुरेमा गाउँपालिकाको भवन निर्माणको लागि आजदेखि जग्गा सम्याउन सुरु गरिएको हो । जग्गा धनीहरुलाई समेत नोक्सानी नपुग्ने गरि गाउँपालिकाको लागि जग्गा व्यवस्थापन गर्न लागिएको छ ।

धार्मिक विधि अनुसार पुजा गरि गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले जग्गा सम्याउने कार्यको सुभारम्भ गर्नुभएको हो । उहाँले जग्गा सम्याउनको लागि पु¥याईएको डोजरले जग्गा सम्याएर उक्त कार्यको सुरु गर्नुभएको थियो ।

अधिकाँश जग्गा धनीको मन्जुरी लिएर गाउँपालिका कार्यालयको भवन निर्माणको लागि जग्गा सम्माउन लागिएको बताउँदै अध्यक्ष भण्डारीले गाउँपालिकाको भवन बनाउन  आबश्यक पर्ने जग्गा प्राप्ती हुने विश्वास व्यक्त गर्नुभयो ।

रघुगंगा गाउँपालिकाको भवन निर्माणको लागि छनौट गरिएको कुखुरे क्षेत्रमा रहेका जग्गा धनीहरुबाट गाउँपालिकालाई आबश्यक पर्ने जग्गा उपलब्ध गराउने र बाँकी हुन आउने जग्गालाई बिचमा सबै जग्गा सकिन आउने धनीलाई बाँडफाँड गर्ने मोडलमा जग्गा उपलब्ध गराउन लागिएको हो । जग्गा सम्याउने कार्यको शुभारम्भ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाई, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, वडा नम्बर ३ का सदस्य प्रेमनाथ सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

यसैबिच सोमबार नै गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको भेलाले गाउँपालिकाको भवन निर्माणको लागि आबश्यक पर्ने जग्गा व्यवस्थापनको लागि एक समिति समेत गठन गरेको छ । हरि सुवेदीको अध्यक्षतामामा गठित उक्त समितिको उपाध्यक्षमा जित बहादुर पाईजा, सचिब मुकुन्द शर्मा, कोषाध्यक्षमा यामकुमारी गर्वुजा र सदस्यहरुमा गोपाल शर्मा, रत्नकुमारी कार्की, ओमकुमारी खत्री , पदम विक, गोविन्द रिजाल, भेषनाथ रिजाल, श्रीकृष्ण रिजाल रहनुभएको छ ।

त्यसैगरि तारानाथ सुवेदी, बालकृष्ण सुवेदी र शिव केसी सदस्य रहनुभएका सल्लाहकार समिति समेत गठन भएको छ । जग्गा सम्याउने कार्य सकेर जग्गा धनी मार्फत गाउँपालिकाको नाममा जग्गा ल्याएपछि भवन निर्माणको कार्यलाई अगाडी बढाउने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । यस बर्ष म्याग्दीबाट रघुगंगा र धौलागिरि गाउँपालिकाको भवन निर्माण योजना जिल्ला समन्वय समिति मार्फत छनौट भई सिफारिस भैसकेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l