बेनी–दरवाङ–ढोरपाटन सडकको ट्याक खोल्ने काम तिब्र

  • ३१ बैशाख २०७५, सोमबार
  • 3204 पटक पढिएको

ताकम ३१ बैशाख । मध्य पहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनी देखि ढोरपाटन जोड्ने बेनी–दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको ट्याक निर्माणको काम तिब्र रुपमा अघि बढेको छ । सडक डिभिजन कार्यालय बागलुङ एक दशक अघि ट्याक खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम सुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजना अन्तरगत दरवाङ देखि ढोरपाटन जोड्ने सडकको ट्याक खोल्ने कामलाई तिब्रता दिएको छ ।

वि.स २०६७ मा दरवाङबाट सुरु भएको सडकको ट्याक निर्माणको काम बिम–ताकम हुदै मुनासम्म पु¥याइएको आयोजनाका प्राबिधिक कृष्ण रायले बताउनुभयो । उहाँका अनुसार दरवाङ देखि मुनासम्म १८ किलोमिटर ट्याक खुलेको सडक थप सात किलोमिटर विस्तार गरेपछि लुलाङ हुदै ढोरपाटनको सिमाना जलजला पुग्नेछ ।

जिल्ला समन्वय समितिले यस वर्ष बिनियोजन गरेको ७२ लाख र गत वर्षको साठी लाख रुपैया बजेटबाट मालिका गाउँपालिका ७ बिमको साउँबोट बारी बगरदेखि ताकमसम्म पाँच किलोमिटर सडकको ट्याक खोल्ने काम सकिएको उपभोक्ता समितिका अध्यक्ष खुमनाथ सुवेदीले बताउनुभयो । ताकमदेखि मुना र दरवाङदेखि साउँबोटसम्मको ट्याक खोल्ने काम यसअघिनै सकिएको धौलागिरि गाउँपालिका ७ का वडा अध्यक्ष कलानिधी सुवेदीले बताउनुभयो । जिल्ला समन्वय समितिले शिवरात्रीखोलासम्म पुराएको सडकलाई धौलागिरि गाउँपालिकाले यस वर्ष बिनियोजन गरेको २५ लाख रुपैया बजेटबाट शिवरात्रीखोलाको पहाड फुटाउने काम सम्पन्न भएपछि दरवाङदेखि साउँबोटसम्म सिधा सवारी सञ्चालन हुन थालेको छ ।

शिवरात्रीखोलादेखि साउँबोटसम्म अपर म्याग्दी जलविद्युत आयोजनाले तिन किलोमिटर सडक निर्माण गरेको छ । सोमबार सडकको स्थलगत अनुगमन गर्नुभएका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले शिवरात्रीखोला तथा साउँबोट र बगरको सिमानामा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि बेनी देखि मुनासम्म सिधा सडक सञ्जालमा जोडिने बताउनुभयो ।

हाल दरवाङ देखि धारापानी ताकम हुदै मुना जोड्ने सडक प्रयोगमा छ । धौलागिरि गाँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले पश्चिम म्याग्दीको आर्थिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण सम्भावना बोकेको सडकलाई ढोरपाटनसम्म जोडेर मध्य पहाडी लोकमार्गको विकल्प बनाउने लक्ष्य रहेको बताउनुभयो । बागलुङ बजारदेखि बुर्तीवाङ हुदै ढोरपाटन जोड्ने सडक मध्य यो सडक करिब पचास किलोमिटर कम दुरीको हुने जनाइएको छ । यसैबीच जिसस प्रमुख केसी, प्राबिधिक राय सहितको टोलीले सोमबार जिससले चालु आर्थिक वर्षमा ७५ लाख रुपैया बिनियोजन गरेको अर्गला बिम सडकको समेत अनुगमन र उपभोक्ता समितिका पदाधीकारी तथा जनप्रतिनिधिसंग अन्तरक्रिया गर्नुभएको थियो ।