बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण सुरु

  • ३० बैशाख २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2027 पटक पढिएको

डाँडाखेत ३० बैशाख । एक वर्षअघिको आगोलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण सुरु भएको छ ।
दक्षिण कोरीयाको ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशनको सहयोगमा दश कोठे भवन निर्माण सुरु भएको हो । संस्थाका अध्यक्ष छो थे याङ र वडा अध्यक्ष गोविन्द्रप्रसाद पौडेलले आईतबार भवनको शिलन्यास गर्नुभयो । सो अवसरमा अध्यक्ष याङ र विद्यालयबीच भवन पुननिर्माणमा सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

दुई तले भवन निर्माणका लागि एक करोड रुपैया लागत अनुमान गरिएको प्रअ रामप्रसाद शर्माले बताउनुभयो । हाल दक्षिण कोरीयामा रहनुभएका विद्यालयका पूर्व बिद्यार्थी बिनोद कुँवर र संगिता कार्की कुँवरको पहलमा संस्थाले पुननिर्माणमा सहयोग गरेको हो ।आगामी आठ महिनाभित्रमा भवन निर्माण गरिसक्ने लक्ष्य रहेको छ । शिक्षा विकास तथा समन्वय ईकाईको बहुवर्षे योजना अन्तरगत ३६ लाख रुपैया अनुदानमा बालविकास, सिकाई केन्द्र, पुस्तकालय र कम्प्युटर ल्याबका लागि थप चार कोठे भवन समेत निर्माण भैरहेको छ ।

भवन निर्माणका लागि स्थानीयबासी र पूर्व विद्यार्थीबाट २२ लाख रुपैया सहयोग जुटाएर दुई रोपनी १० आना जग्गा खरिद गरिएको थियो । २०७३ फागुन २६ गते साँझ विद्युत सर्ट भएर आगोलागी हुदाँ विद्यालयको आठ कोठे भवन ध्वस्त हुनुका साथै ९२ लाख रुपैया बराबरको क्षत्ती भएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बानियाको अध्यक्षता, शिक्षक अर्जुन खत्रीको सञ्चालन र स्रोत व्यक्ति मोहन बानियाको स्वागत मन्तब्यमा सम्पन्न कार्यत्रममा वडा अध्यक्ष गोविन्द्रप्रसाद पौडेल, ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशन नेपालका अध्यक्ष उद्धवप्रसाद उप्रेती, उपाध्यक्ष सिद्धीलाल श्रेष्ठ र व्यवस्थापन समितिका सदस्य सुमन बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सन्तोष गौतम