लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा ( भिडियो सहित )

  • २४ बैशाख २०७५, सोमबार
  • कमल खत्री
  • 3361 पटक पढिएको

म्याग्दी, २४ वैशाख । शुभ कार्यहरुमा परम्परागत रुपमा पुरुषहरुले मात्रै बजाउने गरेको नौमती बाजा महिलाहरुले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउनेहरु हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलिहरुले भने महिला र पुरुष दुबैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको सुरुवात गरेका हुन् । नौमती बाजा बजाउनेमा महिलाहरुले मादल, दमाह र झ्याली बजाउने गर्छन् । विवाह, चौरासी पुजा, ब्रतबन्ध, छेवर लगायतका शुभ कार्यहरुमा बजाईने नौमती बाजालाई संरक्षण गर्दै व्यवसायिक बनाउने उदेश्यले पोखरामा बसोबास गर्ने म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका बासिन्दाहरुले फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समुह नै बनाएका छन् ।

वि.स. २०६१ सालमा गठन भएको यस समुहले नयाँ पुस्ताका युवा युवतीहरुलाई नौमती बाजा बजाउन सिकाएर दर्जन बढी नयाँ बाजा समुह नै उत्पादन गरिसकेको फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समुहका अध्यक्ष डम्बर बहादुर पुर्जाले बताउनुभयो ।
‘‘ एउटै समुहमा महिला र पुरुष दुबैले नौमती बाजा बजाउनु हाम्रो प्रमुख बिशेषता हो, हामीले यस समुह मार्फत कला संस्कृतिको संरक्षण र नयाँपन संगै रोजगारि पनि सिर्जना गरेका छौँ’’– अध्यक्ष पुर्जाले भन्नुभयो । यस समुहमा अहिले ३० जना बढी आबद्ध छन् । त्यसमध्ये करिब आधा महिला मात्रै छन् ।

महिलाहरुले बाजा बजाउनुको साथै नौमती बाजामा दोहोरी गाउने र नृत्य समेत देखाउने गरेको समुहकी सदस्य प्रिती पुनले बताउनुभयो । महिलाले नै बाजा बजाउने, दोहोरी गाउने र नृत्य समेत देखाउने भएकाले पोखरा क्षेत्रमा यस समुहको लोकप्रियता बढेको समुहका बाधक तिलक फगामीले बताउनुभयो । विवाहको लगन र पुजा आजा हुने समयमा २ बढी समुह बनाएर नौमती बाजा बजाउने गरिएको छ । बाजा बजाएर आउने आम्दानीबाट समुहमा आबद्ध भएका बाधक र कलाकारहरुलाई पारिश्रमीक दिने गरिएको अध्यक्ष पुर्जाले बताउनुभयो ।

यस समुहले आफ्नो आम्दानीबाट केही रकम बचत गरि सामाजिक उत्थानको लागि कोष खडा गर्नुको साथै नौमती बाजाका सामाग्रीहरु समेत खरिद गर्ने गरेको समुहकी सदस्य टिकमती पुनले बताउनुभयो । पोखरामा रहेका म्याग्देलिहरुले मात्रै होईन म्याग्दीकै विभिन्न ठाउँमा समेत विशेष गरि मगर समुदायमा महिलाले समेत नौमती बाजा बजाउने गरेका छन् । म्याग्दीबाट कावासेती, चितवन लगायतका क्षेत्रमा पुगेका जनजाती समुदायले समेत महिला र पुरुष दुबैलाई समावेश गरि नौमती बाजा बजाउने गरेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l