वैद्यका सारथी– एउटा ‘जङ्गल’तिर, अर्का सिंहदरबारतिर

  • २० बैशाख २०७५, बिहीबार
  • 189 पटक पढिएको

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवले नउक्साएको भए र रामबहादुर थापा बादलले साथ नदिएको भए मोहन वैद्य किरणले २०६९ मा माओवादी पार्टी फुटाउने र प्रचण्डसँग सङ्गठनमै आमने–सामने हुने हिम्मत गर्दैनथे । परिस्थिति यस्तो भइदियो, वैद्यले ‘चाहना नहुँदाहुँदै’ पनि विप्लव र बादलको जोडबलमा प्रचण्ड नेतृत्वको माओवादी विभाजन भयो । विभाजित पार्टीको कमान्डर वैद्यलाई दिइयो/बनाइयो ।

राजनीति निर्मम हुन्छ भन्ने सत्यता वैद्यको हकमा पनि देखियो । पार्टी फुटाउन उक्साउने र साथ दिने दुवै अहिले वैद्यसँग छैनन् । जे मुद्दा लिएर पार्टी विभाजन भएको थियो, त्यही मुद्दा समातेर वैद्यले अहिले राजनीति गरिरहेका छन् । तर, सङ्गठन कमजोर छ, त्यसैले राष्ट्रिय राजनीतिमा वैद्यको हस्तक्षेपकारी भूमिका छैन ।

पार्टी विभाजन ताकाको घटनाक्रम नजिकबाट नियालेकाहरूको बुझाइ के छ भने– माओवादी विभाजनमा वैद्यको भन्दा विप्लवको हात धेरै थियो । कुनै बेला प्लेकार्ड र ब्यानर बोकेर बादल र विप्लव वैद्यसँग सडकमा देखिन्थे । दृश्य बदलिएको छ । हालै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले सडकमा मार्चपास गर्यो । तर, वैद्यसँग उनका पुराना सहकर्मी सीपी गजुरेल मात्रै देखिए । वैशाख १४ गते भएको ‘रेडमार्च’मा वैद्य रातो टिसर्टमा सडकमा देखिए ।

प्रचण्डसँगको घनिष्ट सम्बन्ध तोड्ने वैद्यको कदमलाई विप्लवले एउटा समय साथ त दिए । तर, निरन्तरता दिएनन् । निरन्तता मात्रै नदिएका होइनन्, ‘बूढाहरूले क्रान्ति गर्न सक्दैनन्’ विप्लवले वैद्यको ‘अपमान’ पनि गरे ।

एउटा समय यस्तो थियो, प्रचण्डविरुद्ध आक्रमक गर्न वैद्यभन्दा बादल अगाडि थिए । तर, तिनै बादलले पनि वैद्यलाई एक्लै छाडेर प्रचण्डसँग हात मिलाए । प्रचण्ड–वैद्यबीच घनिष्ट सम्बन्ध हुँदाहँुदै पार्टी विभाजनमा उक्साउने विप्लव र बादलले वैद्यलाई धोका दिए । भन्ने गरिएको छ– यदि त्यो समय वैद्य विप्लवको उक्साहटमा नपरेको भए आज वैद्य प्रचण्डसँगै हुन पनि सक्थे ।

१० वर्षे सशस्त्र युद्धसँगै लडेका प्रचण्ड, वैद्य, बाबुराम, विप्लवको अहिले छुट्टाछुट्टै राजनीतिक चुल्हो छ । कम्युनिस्ट आन्दोलनमा तीन दशक लामो सहकार्य र सम्बन्ध रह्यो प्रचण्ड–वैद्यबीच । एउटै पार्टीमा बसेर लामो सहकार्य गरे पनि उनीहरूबीच राजनीतिक वैचारिक कुरामा चर्को विवाद भैरहन्थ्यो ।

राजनीतिमा लागेको तिथिमिति केलाउँदा वैद्य गुरु, प्रचण्ड चेलाजस्तै हुन् । प्रचण्डले डिभोर्ससँगै पुनर्मिलनको अनुभव लिन पाए तर वैद्यसँग डिभोर्सको मात्र अनुभव छ । प्रचण्ड, बाबुराम, बादल र विप्लव सबैसँग अलग भएर बसेका छन् वैद्य ।

झन्डै पाँच दशक कम्युनिस्टको राजनीति गरेका वैद्यसामु अहिले मुद्दाबाहेक अरू केही छैनन् । उनी नेतृत्वको क्रान्तिकारी माओवादीका लागि मुद्दा राख्ने ठाउँ सडक मात्र बनेको छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा मोर्चा बनाएर उनको पार्टी मैदानमा उत्रियो । तर मत निकै कम पायो ।

जनयुद्धदेखि शान्ति प्रक्रियाको चरणसम्म हँुदै प्रचण्ड– बाबुरामलाई ‘बाई बाई’ गर्न लिप्ट दिने वैद्यका तिनै सारथिले पछि उनैलाई बाई बाई गरे । आफ्नैले घात गरेपछि कसको के लाग्छ र ? सायद त्यतिबेला वैद्यले प्रचण्डबाट छुटिँदाको गल्ती महसुस गरे होलान् या नगरेका पनि हुन सक्छन् । किनकि तत्कालीन माओवादीमा उनको छवि खरो नेताका  रूपमा परिचित थियो । कम्प्रमाइज उनको स्वभावले दिएन ।

जतिबेला वैद्य– विप्लव र बादलले प्रचण्डलाई ‘बाई–बाई’ गर्ने निर्णय लिएका थिए, त्यतिबेला प्रचण्ड देशको सबैभन्दा ठूलो पार्टीको नेता थिए । संविधान निर्माण र शान्ति प्रक्रियामा प्रचण्डले बाटो विराएको वैद्य र बादलको बुझाइ थियो । यही बुझाइ ‘डिभोर्स’को तहमा पुग्यो । तर पछि तिनै सारथि एक एक गर्दै वैद्यलाई एक्लै छाडिदिए । आफूलाई साथ दिने वचन दिएका दुई सारथिबाट अन्तर्घात सिवाय वैद्यले केही पाएनन् ।

पेरिसडाँडालाई सँगै ‘बाई बाई’ गरेका तीनैजनाको बाटो अहिले तीनतिरै छ ।

पहिला विप्लवले छाडे

बौद्ध भेलापछि वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भयो । त्यो कार्यक्रम चलिरहँदा विप्लवलाई पार्टी विभाजन गराउने एक सूत्रधारका रूपमा प्रस्तुत गरिएको थियो । ०६९ असार ५ मा प्रचण्डसँग डिभोर्स गर्दै वैद्य नेतृत्वमा बादल, विप्लवलगायतका नेता बुद्धनगरतिर लागेका थिए ।

त्यस मितिदेखि ०७१ मङ्सिर ७ सम्म विप्लव वैद्य नेतृत्वको पार्टीमा थिए । पार्टी गठन भएको दुई वर्षसम्म क्रान्तिका लागि कुनै पहलकदमी हुन नसकेको आरोप विप्लवको थियो ।

नेतृत्व यथास्थितिमा फसेको र फुटको औचित्य पुष्टि गर्न नसकेको आरोप लगाउँदै विप्लव पार्टीबाट बाहिरिए ।

उनले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाए ।

वैद्य र बादललाई छाडेर हिँडेपछि विप्लवले आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे । थवाङमा महाधिवेशनको बन्दसत्र भयो । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखे ।

विप्लवले एकीकृत क्रान्तिको कार्यदिशा लिएका छन् । विभिन्न फौजी काम गरेर यो पार्टी चर्चामै छ ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजको नारासहित प्रदेशसभा र प्रतिनिधिसभा चुनाव बहिष्कार गरेको थियो ।

विप्लव पार्टीको बहिष्कार सामान्य थिएन, सकेसम्मको कोसिस ग¥यो । दर्जनौँ ठाउँमा चुनाव विरोधी गतिविधि ग¥यो । यो पार्टीले चुनाव भाँड्न कतै बम पड्कायो, कतै चुनावी सभा र अभियानलाई अवरोध गर्न खोज्यो ।

तर, विप्लव पार्टीका कारणले चुनाव रोक्नुपर्ने अवस्था आएन । यो पार्टीले चुनावमा जे जति बम पड्कयो, त्यसको औपचारिक जिम्मा लिएन । बरु, जनताले गरेको प्रयत्न मात्र भन्यो ।

प्रशासनले नेपाल कम्युनिस्ट पार्टी धेरै नेता–कार्यकर्ता पक्राउ ग¥यो । यसैबीच मङ्सिर १० र २१ गरी दुई चरणमा चुनाव सम्पन्न भयो ।

चुनावसम्म आउँदा विप्लवको एकीकृत क्रान्तिमाथि पनि त्यही पार्टीभित्र प्रश्न उठ्न थाल्यो ।

अहिले विप्लवमाथि वारेन्ट छ । उनको घरमा पक्राउ पुर्जी टाँस भएको छ । उनी भूगित अवस्थामा छन् । केन्द्रीय नेता अर्धभूमिगत  शैलीमा काम गरेका छन् । उनीहरूका पछिल्ला गतिविधिले सरकार र यो पार्टीबीच तनावको स्थिति सिर्जना भएको छ ।

तर, सरकारले दमन गरेको भन्दै यस्तो मुद्दामा वैद्यले विप्लवको साथ दिने गरेका छन् ।

 

त्यसपछि बादलले छाडे

प्रचण्डसँग डिभोर्स गर्दै वैद्य नेतृत्वमा बादल बुद्धनगरतिर लागेका थिए । पार्टी विभाजनपूर्व पछिल्लो पटक प्रचण्डसँगको सम्बन्ध सेना समायोजनसम्बन्धी निर्णयले विगारेको थियो ।

बाबुराम प्रधानमन्त्री भएलगत्तै लडाकुका शिविरमा रहेका हतियार राखिएका कन्टेनर बुझाउने निर्णय भयो, त्यसप्रति बादलले कडा आपत्ति जनाए । धोबीघाट मोर्चापछि सैन्य आयोगका प्रमुख बनेका बादललाई सेनासम्बन्धी महत्वूपर्ण विषयमा निर्णय गर्दासमेत जानकारी नदिएको आरोप बादलको थियो ।

प्रचण्डसँग धोबीघाटदेखि नै टाढा भएका बादलले चाबी बुझाउने निर्णयमा आफूलाई सहभागी नगराएकोमा आपत्ति जनाए र पछि त्यो संस्थागत गर्ने गृहकार्य गरे । यसैका जगमा वैद्य–बादलले संयुक्त रूपमा विज्ञप्ति निकालेर नै चाबी बुझाउने निर्णयको विरोध गरे । त्यहाँबाट सुरु भएको तीक्तकापूर्ण आरोप–प्रत्यारोप ०६८ को पुसमा चलेको केन्द्रीय समितिसम्म आउँदा उत्कर्षमै पुग्यो । पछि सम्बन्ध–विच्छेदको रूप लिएको थियो ।

जब बौद्धमा राष्ट्रिय कार्यकर्ता भेला बोलाइयो, सबैको नजर बादलमाथि थियो । प्रचण्डलाई टक्कर दिने नेताका रूपमा उनको छवि प्रचार गरियो । पार्टीमा उनी महासचिव भए । तर, चार वर्ष राष्ट्रिय राजनीतिमा उनी ओझेलमा परे । दोस्रो संविधानसभा बहिष्कारको कार्यनीति ‘आत्मघाती’ नै बन्यो । प्रचण्डलाई ‘देखाइदिने’ बाहेक त्यो कार्यनीतिको कुनै औचित्य देखिएन ।

जनयुद्धको त्यो रापतापबाट राजनीतिमा आफ्नो हैसियत बनाएका बादलका लागि वैद्य माओवादीमा रहँदाका चार वर्ष न व्यक्तिगत रूपमा न राजनीति रूपमा नै फलदायी रहे ।

प्रचण्डसँग डिभोर्स गरेर हिँड्दा क्रान्ति गर्ने सपना थिए । जनविद्रोहको कार्यदिशा थियो । तर चार वर्षमा यो कोर्समा कहीँकतै पनि प्रगति भएन । बरु, वैद्य र बादलसहितका नेतालाई सङ्केत गर्दै विप्लवले ‘बुढाले क्रान्ति गर्न सक्दैनन्’ भनेर आफ्नो बाटो रोजे ।

विप्लवको यो कदमले वैद्य माओवादीभित्र थप निराशा र पलायन बढायो । यो कुरा बादलले बुझे र पछि एकताको कोर्स अघि बढाए । बादल वैद्यसहितको एकताको पक्षमा थिए । अन्तिमसम्म प्रयास पनि गरे । तर राजनीतिक–वैचारिक कार्यदिशा नमिलेसम्म एकतामा जान नसकिने वैद्यको लाइन आयो ।

कुनै बेला प्रचण्डलाई गद्दार घोषणा गर्नुपर्छ भनी प्रस्ताव गरेका बादलले २०७३ जेठ ६ मा निःसर्त एमाओवादीसँग पार्टी एकता गरे । त्यो निर्णय उनलाई ‘लक्की’ सावित भयो । प्रचण्डले उनलाई राम्रै स्पेस दिए ।
बादलले प्रतिनिधिसभामा चितवनबाट चुनाव लड्न त पाएनन् । तर प्रदेश–३ बाट राष्ट्रियसभामा निर्वाचित भए । गत माघ २४ गते भएको निर्वाचनमा बादल ३ हजार ३ सय ९६ मतभारका साथ राष्ट्रियसभा सदस्यमा विजयी भएका थिए ।

उनी अहिले गृहमन्त्री समालिरहेका छन् । निकै कूटनीतिक तवरले पार्टीमा आफ्नो वर्चस्व जमाएका छन् । प्रदेश सरकारमा पनि उनी गुटका मन्त्री सांसदको वर्चस्व छ । केन्द्रमा पनि राम्रै पकड जमाएका छन् । पार्टीभित्र सङ्ख्याका आधारमा प्रचण्डलाई टक्कर दिने हैसिएत उनले बनाएका छन् ।

वैद्य र विप्लवको आन्दोलन र क्रान्तिलाई ‘तह’ लगाउने जिम्मा परिपस्थितिले बादलको काँधमा पु¥यइदिएको छ । लड्डु खाएर प्रचण्डसँग मिलेका बादलले अहिले त्यसको ‘स्वाद’ लिइरहेका छन् ।

एउटा प्रयोग फेल, अब सडकतिर

असोज २२ देखि २६ गतेसम्म वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भयो । राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न सो पार्टीले पार्टी मुख्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई व्यङ्ग्य गर्दै वैद्यले भनेका थिए, ‘हामी सुँगुरको खोरमा जान थालेका छौँ ।’ क्रान्तिका लागि चुनाव उपयोग गर्न थालेको बताउँदै उनले भनेका थिए, ‘यो संसदीय चुनाव सुँगुरको खोर हो । हामी पनि सुँगुर खोरभित्र पस्न थालेका छौँ । तर, यो हामीले क्रान्तिका लागि गर्दैर्छौं ।’

वैद्यको यो भनाइले उनको पार्टी साङ्गठिनक र राजनीतिक दुवै हिसाबले तयारीविना चुनावमा जान लागेको सङ्केत गरेको थियो । उनीमाथि चुनाव उपयोगको दबाब पनि थियो । देशभक्त गणतान्त्रिक मोर्चामार्फत वैद्य माओवादी चुनावी मैदानमा उत्रेको थियो । तर देशभर एक करोड ५ लाख मत खस्दा यो मोर्चाले १३ हजार नौ सय ४२ मत अर्थात सदर मतको शून्य दशमलव १५ प्रतिशत भोट पायो ।

 

स्थानीय तहमा पनि भाग लिएको यो मोर्चालाई प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीको शानदार प्रदर्शन हुन्छ भन्ने लागेको चाहिँ थिएन । जे जति मत आयो, यो चाहिँ वैद्य पार्टीका लागि सुखद थिएन र सम्मानजनक पनि । चुनावले वैद्य माओवादीको सङ्गठनको हैसियत पनि उजागर गरिदियो । त्यसपछि वैद्य माओवादीभित्र एक्लै केही गर्न सकिन्न भन्ने दबाब पैदा भएजस्तो देखिन्छ ।

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न र नयाँ जनवादी क्रान्ति पूरा गर्न वैद्यको नेतृत्वमा नेकपा (माओवादी पार्टीको गठन भएको थियो । सुरुमा वैद्य नेतृत्वको माओवादी साङ्गठनिक रूपमा पनि बलियो थियो, जसले प्रचण्ड माओवादीमाथि दबाब नै बनाएको थियो ।

तर भावी कार्यदिशालाई लिएर यो पार्टीभित्र मतभेद देखियो । विप्लव बाहिरिए । अनि बादलको समूह प्रचण्डसँग हातेमालो गर्न पुग्यो ।

कुनै समय प्रचन्डलाई गद्दार घोषणा गर्नुपर्छ भन्ने बादल उनै प्रचण्डसँग एकता गरे । बहुमत केन्द्रीय सदस्यसहित माओवादीमा पर्किएका बादलले वैद्यलाई पनि लग्ने कोसिस गरे । तर, सकेनन् ।

आफैले नवसंशोधनवादी किटान गरेको दलसँग पार्टी एकीकरण गर्नु वैद्यका लागि नैतिक सङ्कटको विषय बन्यो ।

जीवनको लामो समयसम्म स्वच्छ छवी र ‘हार्ड लाइनर’को छवी बनाएका वैद्यले आफ्नो छवि विग्रनेतिर चिन्ता देखे । त्यसैले उनी एकतामा गएनन् । आफ्ना सारथिले साथ छाडेपछि उनी कमजोर बनेका छन् ।

उमेरले पनि उनलाई सक्रिय राजनीतिमा साथ दिने अवस्था घट्दै गएको छ । राष्ट्रिय राजनीतिमा पहुँच नभए पनि शान्तिपूर्ण सडक सङ्घर्षका कार्यक्रममार्फत आफ्ना एजेन्डा बाहिर ल्याएका छन् ।

वैद्य–विप्लवको पुनर्मिलन सम्भव होला ?

वैद्य–विप्लव बेलाबेला नजिक देखिन्छन् । जसको कारण वैद्य र विप्लव नेतृत्वको पार्टीबीच एकताको चर्चा पनि हुन्छ ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव वैद्यले उपयोग गरे र विप्लवले बहिष्कार । उपयोग गरेका वैद्यले प्रदेश र प्रतिनिधिसभामा एक ठाउँ पनि चुनाव जितेनन् । बहिष्कार गरेका विप्लवले पनि ठाउँठाउँमा बम पड्काउनेबाहेक चुनावै नै अवरोध गर्न सकेनन् ।

चुनावपछि दुवै पार्टी नजिक भए । अब वैद्यको पनि हैसियत चुनावी नतिजाले उजागर ग¥यो । त्यसपछि एक्लै केही गर्न सकिन्न भन्ने महसुुस दुवै पार्टीलाई भएको देखिन्छ । चुनावसम्म जेसुकै भए पनि यी दुई पार्टीबीच पार्टी एकताका लागि सघन संवाद भएका छन् । यद्यपि एकताले मूर्त रूप लिन्छ कि लिँदैन, त्यसबारे अहिले नै भन्न सकिने अवस्था चाहिँ छैन ।

बूढाहरूले क्रान्ति गर्न सक्दैनन् भन्दै गएका विप्लव पुनः बुढाहरूसगै काँधमा काध मिलाउने सोचमा छन् । विप्लवसँग पार्टी एकता भयो भने वैद्यले एक पटक पुनर्मिलनको अनुभव लिनेछन् ।

बबिता शर्मा

शर्मा रातोपाटीका लागि राजनीतिक बिटमा रिपोर्टिङ  गर्छिन् । 

बैशाख २०, २०७५