चण्डि पूर्णिमामा मालिकामा ५ हजार भक्तजनले दर्शन गरे

  • १८ बैशाख २०७५, मंगलवार
  • गोपाल छन्त्याल
  • 2916 पटक पढिएको

म्याग्दी, १८ बैशाख । म्याग्दीको प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा विकसित मालिकामा चण्डि पूर्णिमाका दिन पाँच हजार भक्तजनले दर्शन गरेका छन् । सोमबार एकैदिन उक्त सँख्यामा भक्तजनले दर्शनपुजन गरेको मालिका विकास क्षेत्रका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए । भक्तजनबाट २७ हजार ७ सय रुपैयाँ भेटी संकलन भएको अध्यक्ष पाइजाले जानकारी दिए ।

‘बालीनालीको प्रर्वद्धन, विश्वशान्तिका लागि हामीले पुजा खुल्ला गरेका थियौँ । थुप्रै ठाउँबाट भक्तजन आउनुभयो’, उनले भने । मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा पर्ने मालिकामा भगवान शिव र पार्वती घुमफिरका क्रममा पार्वतीको माला खसेको धार्मिक जनविश्वास छ । यससँगै थुप्रै देवीदेवताको तपोभूमी मानिने मालिकामा पुजापाठ र दर्शन गरे आफ्नो मनोकाँक्षा पूरा हुने विश्वासले चण्डी पूर्णिमा, तिहार, जनैपूर्णिमा लगायतका पर्वहरुमा भक्तजनको घुईचो लाग्ने गर्छ ।

उच्च स्थानमा अवस्थित रहेकाले धौलागिरि,नीलगिरि, अन्नपूर्ण लगायत दर्जन बढी हिमश्रृङखलाको दृश्यालोकन, गुरासेजँगल, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङजा जिल्लाका अधिकाँश क्षेत्रको अवलोकन गर्न पाइनु मालिकाको अर्को विशेषता हो । मालिकामा रघुगंगा गाउँपालिका ७पाखापानीस्थित ठाडाखानी, मालिकाको विम, दुखु र मंगलाको हिदी गरि चार स्थानबाट पुग्न सकिन्छ । चारैतर्फ व्यवस्थित पदमार्ग खुलाईएको छ ।

ठाडाखानीसम्म सडक सञ्जालको पहुँच रहेका कारण त्यहाँबाट तुलनात्मक रुपमा नजिक पर्छ । धार्मिक पर्यटकको चहलपहल बढेपछि विशेष पर्व बाहेक हरेक मंगलबार पुजा र दर्शनको व्यवस्था मिलाउन लागिएको अध्यक्ष पाइजाले जानकारी दिए । मालिकामा चार गाउँका साथै, मुदी, कुईनेमँगले, ताकम, मल्कबाङ, बेनीबजार, घतान, धकिम्ली र पोखरा क्षेत्रबाट समेत भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् ।

गोपाल छन्त्याल