अाज बुद्ध जयन्ती

  • १७ बैशाख २०७५, सोमबार
  • 2431 पटक पढिएको

 

१७ वैशाख । आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।

बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक एवं धर्मप्रवर्तक हुन् । यस्ता महान् गुरु जसले आˆना प्रवचनमा भगवान्ले संसार सिर्जना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्युँझाउन सहयोग गरे । बुद्धको धर्म वैज्ञानिक धर्म हो ।

बुद्धको जन्म ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको वगैँचामा भएको थियो । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीका सुपुत्र हुन् । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ ।  जन्मनासाथ पोखरीमा स्नान गराइएका यिनले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन् । राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो । सिद्धार्थ २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

सिद्धार्थले रोगी, वृद्ध तथा मरेको मानिस देखेपछि संसारलाई दुःखमय जाने । त्यही दुःखमुक्तिको उपाय  खोज्न उनले परिवार तथा राजसी सुखसयल त्याग गरे । उनलाई मानव जीवनमा आइपर्ने पीडा एवं दुःख निवारण गर्ने ज्ञानको खोजी थियो । वषौर्ंको तपस्यापछि उनी बुद्धत्व प्राप्त गर्न सफल भए । उनले प्राप्त गरेको दर्शन र ज्ञान नै बुद्धत्व हो ।

अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपाल सहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ ।

बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । यो ग्रन्थ भगवान बुद्धको महापरिनिर्वाण पश्चात उहाँका शिष्यहरूले उहाँका उपदेशहरुलाई सूत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्दछन् । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ ।

स्राेतः अनलार्इनखवर.कम