तुलसीपुरमा आविष्कार केन्द्र खोल्न चाहन्छु : महावीर पुन

  • १६ बैशाख २०७५, आईतवार
  • 2371 पटक पढिएको

तुलसीपुर, वैशाख १६ । प्रसिद्ध म्यागासेसे पुरस्कार बिजेता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले तुलसीपुरमा आविष्कार केन्द्र खोल्न इच्छुक रहेको वताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्नका लागि आफु इच्छुक रहेको उनले वताए । उनले प्रविधिको विकास विना कुनै पनि ठाउँको विकास हुन नसक्ने वताउदै तुलसीपुरको विकासका लागि पनि प्रविधिको विकास महत्वपूर्ण हुने कुरामा जोड दिए ।

“अहिले सामान्य तवरले केन्द्रको स्थापना गर्ने र त्यसलाई क्रमशः विस्तार गर्दै लैजान सकिन्छ” तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा वोल्दै पुनले वताए । उनले राष्ट्रिय आविष्कार केन्द्रले शिक्षा, स्वास्थ्य र कृषिका लागि मोवाइल एप्लिेकेशन समेत वनाएर काम गरिरहेको वताए । आविष्कार केन्द्रका लागि जनतासँग सहयोग लिइरहेको वताउदै पुनले आफुले कहिल्यै पनि व्यवसायका लागि काम नगर्ने वताए । “मलाई विजनेस आउदैन, जनताको सेवा गर्ने मात्रै हो ” उनले भने ।

“आजभोलि धेरै जसो इन्टरनेट भन्ने वित्तिकै फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जाल चलाउने भन्ने वुझिन्छ हामीले विभिन्न एप्लिकेसनहरु सञ्चालन गर्न पनि सिक्नु जरुरी रहेको छ ” पुनले भने । उनले प्रविधिलाई विकास र समृद्धिसँग जोड्पर्ने आजको आवश्यकता रहेको वताए । आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले प्रविधिका माध्यमबाट शिक्षा,स्वास्थ्य,पर्यटन, कृषि लगायतका क्षेत्रलाई प्रभावकारी वनाउनेतर्फ ध्यान दिनुपर्ने वताए । तुलसीपुरका इन्टरनेट नपुगेका वडामा इन्टरनेट पुर्याउनका लागि आफु तयार रहेको भन्दै उनले व्यावसायिक इन्टरनेट प्रदायकहरु पुग्न नसकेको ठाउँमा मात्रै आफुले काम गर्ने वताए । “व्यावसायिक रुपमा काम गर्नेहरु नभएको ठाउँमा इन्टरनेट पुर्याउने मेरो लक्ष्य हो” पुनले भने । तुलसीपुर उपमहानगरपालिकाले यसै वर्षबाट आरम्भ गर्न थालेको स्मार्ट हेल्थ कार्यक्रमको सिलसिलामा यहाँ आएका पुनले उपमहानगरपालिकालाई प्राविधिक क्षेत्रका लागि पनि वजेट तर्जुमा गर्न आग्रह गरेका थिए ।

“हामी कहाँ भौतिक वस्तुमा मात्रै लगानी गर्ने प्रचलन रहेको छ तर हामीले विकासका लागि प्रविधिमा पनि लगानी गर्न इच्छुक रहेको उनले वताए । स्थानीय तहले आफ्ना सेवालाई इन्टरनेटमा राखेर मात्रै स्मार्ट सिटी नहुने भन्दै उनले जनतालाई पनि इन्टरनेट चलाउन सिक्ने वनाउन आवश्यक रहेको वताए ।  कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले यसै वर्षबाट स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन हुने वताउँदै प्रविधिको विकासलाई पनि उपमहानगरपालिकाले प्राथमिकता दिने वताए । उनले आविष्कारक महावीर पुनसँग तुलसीपुरको प्राविधिक विकासका लागि काम गर्ने कुरा भइसकेको वताए । “तुलसीपुरको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्रविधिसँग जोडेर काम गर्नका लागि हामीले प्रयास गरिरहेका छौ ” पाण्डेले भने । उनले वार्षिक रुपमा प्रविधिको विकासका लागि उपमहानगरले निरन्तर वजेट छुट्याउने समेत वताए ।