आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो

  • १३ बैशाख २०७५, बिहीबार
  • 2326 पटक पढिएको

डोल्पा, १३ वैशाख । “हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो।

आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका–९ होर्तका ३९ वर्षीया दत्त बुढाको आजभोली दैनिकी जस्तै बनेको छ।

“हाम्रो नाममा धेरैले राहत उठाएको सुनेका छौ तर अहिले सम्म कसैले पनि राम्रो सहयोग गरेका छैनन् हाम्रो नाममा उठाएको राहत पनि काठमाडौं लगायतका शहरमा बेचेर खाइसके रे खै कहिले राहत पाइएला हामी त घर न घाटका भयौ अर्की आगलागी पीडित नैनासरा बुढाले दुखेसो पोखिन।”

२०७४ पुस २४ गते भएको भीषण आगलागीबाट मुड्केचुला गाउँपालिका–९ होर्त गाउँका नैन बुढा, दत्त बुढा, कन्नगिरी बुढा, पुन्न बुढा र दलजीत बुढाको पाँच ओटा घर पुर्णरुपमा जलेर नष्ट भएका थिए।

आगलागीबाट घर,घरभित्र राखिएको अन्नपात लत्ताकपडा र चलअचल सम्पत्ती सबै गुमाएर बेघर बनेका अग्नीपीडितहरू यत्तिखेर आफन्त र गाउँलेहरूले उठाउदै आएको मानोपिठोबाट बिहान बेलुकाको गर्जो टार्दै आएका छन। आगलागी भएको चार महिना सम्म पनि ओत लाग्ने सम्मको टहरो बनाउन नसकेपछि पीडितहरु आफन्तकै घरमा शरण लिइरहेका छन।

सदरमुकाम दुनै देखि दुई दिनको पैदल यात्रा पछि पुगिने विकट र पिछडिएको गाउँ होर्तमा बसोबास गर्ने आर्थिक रुपमा पिपन्न समुदायका आगलागी पीडितहरु यतिखेर राहतको प्रतिक्षामा छन। जिल्ला प्रशासन कार्यालय डोल्पाबाट अहिले सम्म आफूहरूले राहत बापत २७ हजार ५ सय ,नेपाल तरुणदल डोल्पाबाट कम्बल र बालबालिकाहरूलाई कपिकलम लगायतका शैक्षिक सामाग्रीहरू पाएको बताए।

वार्ड–९ होर्तका अध्यक्ष जयप्रसाद बुढाले आगलागी पीडितको नाममा धेरैले धेरैठाउँबाट नगद तथा जिन्सी सामाग्री उठाएको खबर आफूले पाएको तर अहिले सम्म कसैले पनि पीडितहरुलाई उपलब्ध नगराएकाले छानबीन थालनी गरिएको र क–कसले कसरी राहत उठाइरहेका छन भनेर बुझनुका साथै उठाएको राहत पीडित कहाँ सजिलोसँग पुगोस र दूरुपयोग नहोस भनेर राहत वितरण प्रकृया एकद्दवार प्रणलीमा ल्याइएको बताए।

मुड्केचुला गाउँपालिकाका प्रमुख दत्तबहादुर शाही अग्नी पीडितहरूलाई प्रतिघर ७० हजारका दरले घरको जग उठाउनको लागि राहत स्वरुप सहयोग गरिने नगरसभाले निर्णय गरेको बताउँछन्।

डोल्पा आफैंमा विकट तथा दूर्गम भएकाले निमार्ण सामग्री जम्मा गर्न समस्या पर्नुका साथै महँगो समेत भएकाले घर ठड्याउन अग्नीपीडितहरूलाई गाह्रो भएको बताउदै सबै सहयोगी हातहरूको सहयोगको खाँचो रहेको पनि गाउँपालिका प्रमुख शाहीले बताए।

जिल्ला प्रशासन कार्यालयले राहत वितरण गर्दा आफूहरूलाई अन्याय गरेको अग्नी पीडित कन्नगिरी बुढाले बताए। उनले भने “हाम्रो लागी भनेर विभिन्न निकायबाट राहत उठाइयो तर पूर्ण क्षती र आशिक क्षतीको मुल्याङ्कन नै नगरी हचुवा र राजनीतिक दवावमा आगोले पीडित नभएकालाई पनि पूर्णक्षती सरह राहत उपलब्ध गराइयो।”

डोल्पालीहरूको वर्ष भरीको खर्च आम्दानीको स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनको तयारीमा गाउँलेहरू जुटीरहेको बेला आगलागी पीडितहरू भने कहिले घर ठड्याउने भन्ने चिन्तामा छन।

आगलागी पीडित पुन्न बुढाले भने “हाम्रो वर्षभरीको खर्च आम्दानी गर्ने सिजन यही हो अहिले कमाइएन भने कहिले कमाउने बरु घर रहन्छ तर रिनसापट गरेर भएपनि यार्सागुम्बा संकलन गर्न बनमा जाने तयारीमा जुटीरहेका छौ।”
जिल्लामा बेग्रल्ती रुपमा मानवीय सेवा गर्ने भनेर दर्ता भएका गैरसरकारी संस्थाहरूका कार्यक्रमहरू सदरमुकाम दुनै र दुनै आसपासका स्थानीय तहहरूमा केन्द्रित भए पनि मुड्केचुलाका अग्नी पीडितहरूको समस्याप्रति भने उनीहरूको ध्यान पुग्न सकेको छैन्।

आगलागीबाट बेघर बनिरहेका होर्त गाउँका पीडितहरू र उनीहरूका बालबालिकाहरूको शैक्षिक समस्या समाधानको लागि जिल्ला दैवी प्रकोप उद्दार समिति,जिल्ला रेडक्रस र मानवीय सेवा गर्ने भनेर चर्को नारा दिँदै आएका गैससहरूको ध्यान सम्बन्धित पीडितहरू समक्ष पुग्न जरुरी छ।

-बिष्णुप्रसाद देबकोटा/ नागरिक