पार्टी एकता जनताको साझा सम्पत्ति हो : प्रचण्ड

  • १३ बैशाख २०७५, बिहीबार
  • 1403 पटक पढिएको

 

बैशाख,१३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् ।रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले एकता सिंगो देश र जनताले चाहेको भन्दै एकता साझा सम्पत्ति भएको बताएका हुन् । ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ’ अध्यक्ष प्रचण्डको भनाई छ ।

पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यसमा बिलम्ब गर्नु नहुने बताए । उनले पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको भन्दै एकता गर्न सजिलो भने नभएको बताए । ‘यो सजिलो विषय हैन, कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६र७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो’ प्रचण्डले २०५० सालको घटना स्मरण गरे ।

यहि शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रुप दिनेपनि अध्यक्ष प्रचण्डले दावी गरे ।‘एकता भाड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको बताउँदै उनले एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आह्वान समेत गरे ।उनले अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको भन्दै त्यसलाई पुरा गर्न सबैको कर्तव्य भएकाले सम्बृद्धिमा सवैको ध्यान जानुपर्ने धारणा राखे ।