मलेसियामा ज्यान गुमाएका रुमका दुई यूवाको परिवारलाई पौडेल र भण्डारीद्धारा सहयोग

  • ११ बैशाख २०७५, मंगलवार
  • 3196 पटक पढिएको

म्याग्दी, ११ बैशाख । रोजगारको सिलसिलामा मलेसियामा ज्यान गुमाएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमका दुई युवाको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गत चैत्रमा मलेसियामा ज्यान गुमाएका २८ वर्षिय धर्मलाल रोका र २२ बर्षिय बृद्धि बहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका– ७ ताकम घर भई हाल साउदीमा रहनुभएका विपिन पौडेल र स्याङ्जा घर भई दुबैमा रहनुभएकी निमकला (मायाँ) भण्डारीले रोका र परियारको परिवारलाई रु २७ हजार ८५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

बजारमा ल्याउने तयारी गरिएको ‘जान्छु अब धर्ति छोडेर’ बोलको गितका लय एवम शब्द सिर्जनाकर्ता रहनुभएका पौडेल र निर्माता भण्डारीले व्यक्तिगत रुपमा उक्त सहयोग गर्नुभएको हो । रोका परिवारका तीन जना छोराहरु नै प्रवासमा ज्यान गुमाएको र परियारको परिवार समेत आर्थिक रुपमा कमजोर रहेकाले आफुहरुले व्यक्तिगत रुपमा उक्त सहयोग गरेको सहयोगदाता विपिन पौडेलले बताउनुभयो ।


सहयोगदाता पौडेल र भण्डारीले प्रवासमै तीन छोरा गुमाएका रोका परिवारमा बृद्ध बाबा र आमाको लागि रु १७ हजार ८५५ र परियारको छोरीको अध्ययनको लागि रु १० हजार आर्थिक सहयोग गर्नुभएको हो । उक्त सहयोग दरबाङमा आयोजित एक कार्यक्रमका बिच मंगलवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पिडित परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको छ । सहयोग रकम बुझ्दै पिडित परिवारले आफुहरुलाई आइपरेको समस्यामा साथ दिने सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

त्यस्तै सहयोग हस्तान्तरण गर्दै मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले विदेशमा रहेर पनि आफ्नो पसिनाबाट भएको कमाईबाट समाजमा आईपर्ने समस्याहरुमा साथ दिन सहयोग गर्नुहुने पौडेल र भण्डारीलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।  यसैबिच म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले समेत रोका र परियारको परिवारलाई राहत स्वरुप प्रति परिवार १२ हजार ५ सय सहयोग प्रदान गरेको छ । उक्त सहयोग मोना कतारका सचिव तारा क्षेत्रीले गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा हस्तान्तरण गर्नुभएको थियो ।