राजनीति पेशा कि सेवा !

  • ११ बैशाख २०७५, मंगलवार
  • 645 पटक पढिएको

           – जव राजनीति पेशा भइदिन्छ, त्यो निकै खतरनाक हुन्छ । – पिताम्वर शर्मा,पूर्व उपाध्यक्ष्य योजना आयोग ।
           – राजनीति पेशा होइन समाज सेवा हो भन्ने मान्यता स्थापित हुन सक्दा मूलुकका धेरै समस्या समाधान हुन सक्ने छन् ,दलका  धेरै नेता राजनीतिबाट अलग हुनेछन् । –सुर्यराज आचार्य
         –आम्दानी गर्ने बाटो नहुंदा राजनीति जागिर जस्तो भएको छ, अब त्यो दीगो पनि हुंदैन ।– बिन्दु कुमार थापा ।
         –राजनीति पेशा होइन सेवा हो यसलाइ पेशाको रुपमा अंगाल्ने नेताले देशको विकास गर्न सक्दैन । –देवराज चालिसे
        –सामान्य अर्थमा निश्चित आय आर्जनको आधार,कार्य जिवनको पहिचान, पेशागत उन्नतीको आधार, आत्मसम्मान र आत्मानुभूती को समष्टिलाइ पेशा भनिन्छ । – प्रशासन र व्यवस्थापन, गोकर्ण प्रसाद उपाध्याय ।
माथि उल्लेख गरिएका विभिन्न व्यक्तिहरुको भनाइलाई आधार मान्दा राजनिती पेशा नभइ सेवा नै हो भन्ने बुझिन आउंछ । तर प्रयाप्त मात्रामा रोजगारी र आम्दानीको अवसर उपलब्ध नभएको हाम्रो जस्तो अल्प विकसित देशमा राजनीतिलाइ पनि निश्चित आय आर्जनको आधार मान्ने गरिएको उदाहरण पाइन्छ र त कर्मचारीको भन्दा अलिकति भएपनि मन्त्रीको सुबिधा बढि हुनु पर्ने मान्यता राखिन्छ । केहि समय अंगाडि स्थानीय तहको सरकारका पदाधिकारीलाइ मासिक सुबिधा दिने निर्णय भएपछि बाँकेका वडा सदस्यहरुले पनि सुबिधा माग गरी आन्दोलन गरेको समाचार समेत सामाजिक सञ्र्जालमा सञ्चार भएको थियो ।

बिगतमा केन्द्रीय सरकारका संसदहरुलाइ मासिक रुपमा पारिश्रमिक सुबिधा उपलब्ध भएको भएपनि स्थानीय निकायका पदाधिकारीलाइ भत्ताको रुपमा सामान्य सुबिधा मात्र दिइएको थियो तर यसपटक निर्वाचित स्थानीय तहको सरकारका पदाधिकारीहरु ( प्रमुख, उपप्रमुख, अध्यक्ष , उपाध्यक्ष्य र वडा अध्यक्ष) समेतलाइ कार्यालय समयमा कार्यालयमै बस्नु पर्ने र सो वापत मासिक रुपमै सुबिधा दिने चुनाव अंघिनै प्रस्तावको रुपमा आयो फलस्वरुप प्रदेश सरकारले नेपालको संविधानको धारा १९६ बमोजिम प्रदेश सभा सदस्यको पारिश्रमिक र संविधानको धारा २२७ बमोजिम स्थानीय तहको सरकारका पदाधिकारीलाइ दिने पारिश्रमिक र सुबिधा सम्बन्धी निर्णयहरु भएका छन् । सामान्य अर्थमा सार्वजनिक क्षेत्रमा लगानी गरेको श्रम र समयको क्षतिपूर्ती पारिश्रमिक हो ।

पारिश्रमिक पाउने अपेक्षा अनुसार गरिने काम पेशा हो भने पारिश्रमिकको अपेक्षा नराखी समाजको हितमा श्रम र समय खर्च गर्नु समाज सेवा हो । केहि पाउने भन्दा पनि केहि योगदान दिने उदेश्यले गरिने कार्य समाजसेवा हो । राजनीतिज्ञले पनि श्रम र समयको लगानी गर्नु पर्ने भएकोले सो वापतको क्षतिपुर्ति स्वरुप पारिश्रमिक दिने र दिनुपर्ने व्यवस्था गरिएको हुनुपर्दछ ।

वडा अध्यक्ष सम्मका पदाधिकारिहरु तोकिएको समयसम्म कार्यालयमै बस्नु पर्ने भएकोले मासिक पारिश्रमिक दिने अन्य वडा सदस्यहरुलाइ दैनिक रुपमा कार्यालयमा बस्नु नपर्ने बैठकको समयमा मात्र उपस्थित भए पुग्ने भएकोले बैठक भत्ता उपलब्ध गराउने प्रस्ताव गरिएको हुनसक्छ । राजनीतिज्ञको उदेश्य समाजको विकास गर्नु, बदल्नु, सुधार गर्नु, उन्नतशिल बनाउनु रहेको हुन्छ भने कर्मचारिको कर्तव्य कानुनको कार्यान्वयन गरी सेवा प्रवाह गरी राजनीतिक व्यवस्थालाइ सहयोग पुर्यातउनु हो ।

यस अर्थमा निर्वाचित जनप्रतिनिधिहरु कार्यालयका व्यवस्थापक होइनन् वरु समाजका व्यवस्थापक हुन् । त्यसकारण निर्वाचित जनप्रतिनिधिहरुले तोकिएको समय भित्र कार्यालय मा बसेर सेवा प्रवाह गर्ने, सिफारिसमा सहि गर्ने जस्ता प्रशासनिक काममा आफुलाइ व्यस्त राख्नु भन्दा पनि आफ्नो क्षेत्रको विकासको लागि के गर्न सकिन्छ, सम्भावित श्रोतहरुको पहिचान गरी त्यस्ता श्रोतहरुलाइ कसरी परिचालन गर्न सकिन्छ भन्ने बारे स्थानीय सरोकारवालाहरु संग सरसल्लाह गर्ने , विज्ञहरुसंग परामर्श गर्ने, नीति बनाउने, सेवा प्रवाहको अनुगमन गरी कमी कमजोरी देखा परेमा सुधार गर्ने र गराउने जस्ता नीतिगत कुरामा ध्यान पु¥याउनु पर्ने हुन्छ ।

राजनीतिज्ञ परिवर्तनका बाहक हुन,सुधारकर्ता हुन, नेतृत्वकर्ता हुन् भने कर्मचारीहरु परिवर्तनको कार्यान्वयन कर्ता, संरक्षणकर्ता हुन् । अत राजनीतिज्ञले आफुले पाउने सुबिधामा भन्दा समाजकै आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, समग्रमा देशको विकास गर्नेमा आफुलाइ केन्द्रित गर्नु पर्छ । अर्को पाटोबाट हेर्दा राजनीतिकर्मीको पनि परिवार हुन्छ, आफ्नै खर्च पनि चलाउनु पर्ने हुन्छ त्यसको लागि आम्दानी त चाहिन्छ नै । त्यस्तो खर्च कसरी चलाउने त्यस सम्बन्धमा पनि सोच्नु पर्ने हुन्छ ।प दमा हुंदा त केहि पारिश्रमिक मिल्ला तर सधै पदमा त भइंदैन पदबाट बाहिर हुंदा कसरी जनजिविका चलाउने ? बिगतमा सभासदहरुलाइ पनि पेन्सन सुबिधा दिने बारे बहस चलेको थियो । जनबिरोध पछि त्यसलाइ अंघि बढाइएन ।

एकातिर राजनीतिमा युवाहरुलाइ आकर्षित गर्नु छ अर्कोतिर काम गरी कमाउनु पर्ने युवाले राजनीतिमा समय दिनु परेपछि आफ्नो खर्च कसरी चलाउने ? युवा नेता बिश्व प्रकाश शर्माले आफ्नो केहि पैत्रिक सम्पतिबाट जलबिद्धुत आदिमा शेयर लगानी गरेको, केहि लगानी ट्राभल एजेन्सीमा गरेको र सो बाट आउने आर्जनबाट खर्च चलाउने गरेको भन्ने सञ्चार माध्यममा उल्लेख गर्नु भएको थियो । त्यस्तै युवा नेता गगन थापाले पनि कृषि फर्महरुमा लगानी गरेको जानकारी पाइएको थियो ।भर्खर मात्र राजनीतिमा प्रवेश गर्नुभएका रविन्द्र मिश्रले आफ्नो दुइवटा घर भएको एउटा घर भाडामा लगाई खर्च चलाउने बारे सञ्चार माध्यमलाइ जानकारी गराउनु भएको थियो । स्वच्छ राजनीति गर्न चाहनेले यस सम्बन्धमा गम्भिर भएर सोच्नु पर्ने जरुरी छ ।

हैन भने पैत्रिक सम्पति नभएका, पछाडि परेका, आय आर्जन को श्रोत नभएकाहरुले राजनीतिमा कसरी सहभागि हुन सक्छन, तिनिहरुको आवाज, तिनिहरुको बिचारको सम्मान कसरी हुनसक्छ ? हिंजो आज त चुनाव पनि यति महंगो हुंदै गएको छ कि सर्वसाधारणले चुनाव लड्ने, जित्ने र केहि योगदान गर्ने भन्ने सपना नै देख्न सक्दैनन् । यस्तै चुनाव लड्न नसक्ने हरुलाइ पनि समावेश गर्नु पर्छ, मूलधारमा ल्याउनु पर्छ भनेर समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरियो तर त्यहाँ पनि केहि अपवाद बाहेक उद्योगपति, व्यापारी, नेताकै परिवारहरुमा मात्र सिमित गराइयो ।

राजनीति देशको मुलनीति हो ,समाज बदल्ने,सुधार गर्ने माध्यम हो तर पनि माथि उल्लेखित बिभिन्न कारणहरुले गर्दा राजनीतिलाइ फोहोरी खेलको संज्ञा दिने गरिन्छ । अर्कोतिर राष्ट्रको विकासको लागि यहाँको सिमित श्रोत साधनको दुरुपयोग हुन नदिई परिचालन गर्नु पर्ने छ । पदमा पुगेका जो कोहिले पनि राष्ट्रलाइ केहि दिने भन्दा पनि त्यहाँबाट के फाइदा लिन सकिन्छ भन्नेमै आफुलाइ केन्द्रित गर्दै गएका छन् । शरीरलाइ पूर्णरुपमा स्वच्छ वनाउन घाँटिबाट मात्र नभई टाउको बाटै पानी खन्याउनु परेजस्तै राजनीतिक क्षेत्र स्वच्छ, पारदर्शी नभएसम्म समग्र भ्रष्टाचार निर्मुल हुनै सक्दैन ।

राजनीतिक क्षेत्रले नै आफ्नो जिउने आधार कर्मचारी, उद्योगपति, व्यापारीहरुलाइ बनाउंदा सम्म उ कसरी भ्रष्टाचारको रोकथाम गर्न सक्छ ? कसरी भ्रष्टाचारको बिरोध गर्न सक्छ ? जवसम्म राजनीतिकर्मीले राजनीति बाहेक अन्य बैधानिक श्रोतलाइ आफ्नो जनविकाको आधार बनाउंदैन,राजनीतिलाइ सेवाको रुपमा ठान्दैन तबसम्म भ्रष्टाचार उन्मुलन हुनै सक्दैन ।त्यस्तो अवस्थामा नेतृत्व जतिसुकै प्रतिवद्ध र इमान्दार भएपनि उसका सहकर्मीहरु प्रतिवद्ध, इमान्दार देखिन खोज्लान बन्न सक्दैनन् ।
                                                                                                                                     युवराज पौडेल
                                                                                                                              छत्रदेव – २,बल्कोट अर्घाखाँची