बेनी–दरबाङ सडक स्तरोन्नतीको लागि आजदेखि समय तालिका अनुसार सवारी चल्ने

  • १० बैशाख २०७५, सोमबार
  • कमल खत्री
  • 3708 पटक पढिएको

म्याग्दी, १० वैशाख । बेनी– दरबाङ सडक स्तरोन्नतीको लागि समयतालिका अनुसार सवारी साधन छुटाएर काम गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीलाई सदरमुकामसंग जोड्ने बेनी–दरबाङ सडक खण्ड स्तरोन्नतीको क्रममा साँघुरो ठाउँमा कडा चट्टान काट्नुपर्ने भएकाले एक साताको लागि समयतालिका बनाएर निर्माण कार्यलाई गति दिने निर्णय गरिएको हो ।

उक्त निर्णय अनुसार, आजदेखि १६ गतेसम्म यस सडक खण्ड अन्र्तगत सिंगादेखि तातोपानी सम्म समयतालिका अनुसार सवारी वारपार गर्नेछन् । आइतवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकबाट बेनी नगरपालिका–४ कुनाको तालमा रहेको कडा चट्टानलाई काटेर सडक फराकिलो बनाउनको लागि विहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरि सडक विस्तारको काम गर्ने सहमती बनेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उक्त ठाउँ साघुरो भएको र सवारी साधन आवत जावत गर्दा सडक विस्तार योजना नै सुस्त हुने निर्माण कम्पनीको अनुरोधमा सम्बन्धित सरोकारवालाहरुको बैठक मार्फत एक साताको लागि समयतालिका अनुसार सवारी चलाउने निर्णय भएको प्रजिअ अधिकारीले बताउनुभयो ।
बेनी –दरबाङ सडकखण्डमा पहिलो चरणमा १४ किलोमिटर सडक कालोपत्रे गर्नका लागि गत साउन महिनामै सडक डिभिजन कार्यालय बागलुङ र निर्माण कम्पनी लामा समानान्तर जेभीबीच करिब ४४ करोड रुपैयामा ठेक्का सम्झौता भएको थियो । तर ठेक्का सम्झौता भएको ८ महिना वितिसक्दा समेत यो सडकमा निर्माण कार्यको प्रगती भने न्युन छ ।

बजेट अभाव र निर्माण ब्यवसायीको ढिलासुस्तीका कारण मंगला, मालीका र धौलागिरि गाउँपालीकालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरवाङ सडक कालोपत्रेका लागि सञ्चालीत आयोजनाको काम सुस्त बनेपछि पश्चिम म्याग्दीबासीले गुनासो गरेका छन् । बेनी देखि दरवाङ सडक अन्र्तगत पहिलो चरणमा बावियाचौर सम्मको १४ किलोमिटर सडक स्तरोन्नती गरी कालोपत्रे गर्न लागिएको हो । सम्झौता पछि निर्माणपूर्वका तयारी गर्नुपर्ने भएकाले केही ढिलाई भएपनि निर्माण सम्पन्न गर्ने समय अगाबै काम सक्ने गरि जनशक्ति र स्रोत साधन परिचालन गरिएको निर्माण कम्पनी लामा समानान्तर जेभिका प्रोजेक्ट म्यानेजर गोविन्द भुषालले बताउनुभयो । उहाँका अनुसार, पहिलो चरणमा सडक फराकीलो बनाउने, रिनेटीन र ग्यावीयन पर्खाल लगाउने काम सुरु भएको छ ।

यस सडकमा एघार मिटर फराकीलो हुने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने भएको छ । पहिलो चरणमा बेनी देखि बाबियाचौर सम्मको सडक कालोपत्रे हुनेछ भने त्यहाँदेखि दरवाङ सम्मको कालोपत्रेको लागि अर्को प्याकेजमा काम गर्ने सडक डिभिजनको तयारी छ ।
सडक कालोपत्रे भएपछि हाल साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटीएर तिस मिनेटमा पुरा गर्न सकिनेछ । बेनी–बावियाचौर– दरबाङ हुँदै बागलुङको लामेला, तमान र दरबाङदेखि ताकम – मुना हुदै ढोरपाटन र जलजला जोडिने यो सडकलाई पश्चिम म्याग्दीको ‘भाग्यरेखा’ मानिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l