कम्प्युनिष्ट पार्टी स्थापना दिवसमा श्रमदान गरि सडकको नाली सरसफाइ (फोटो फिचर)

  • ९ बैशाख २०७५, आईतवार
  • कमल खत्री
  • 1775 पटक पढिएको

म्याग्दी, ९ बैशाख । विभिन्न दिवसहरुलाई प्रभातफेरी, गोष्ठी लगायतका औपचारिक कार्यक्रम गरि मनाउने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीमा भने श्रमदान गरि पार्टीको स्थापना दिवस मनाइएको छ । नेपाल कम्प्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आईतबार नेकपा एमाले म्याग्दीले श्रमदान मार्फत सडक मर्मत र नाली सफा गरेको हो ।

करिब ६० जना नेता तथा कार्यकर्ताहरुले तीन घण्टा सम्म श्रमदान गरि बेनी–अर्थुङ्गे सडक खण्ड अन्र्तगत बेनी सामुदायिक छेउमा जिर्ण अवस्थामा पुगेको सडकको नाली सफा गरेका हुन् । दिवसलाई रचनात्मक कार्य गरि मनाउने उदेश्यले श्रमशिविर मार्फत सडकको नाली मर्मत गरिएको एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

‘‘ दिवसलाई उपलब्धीमुलक तवरले मनाउन हामीले श्रमशिविर आयोजना गरेका हौँ, यसले समुदायलाई स्थानीय समस्याहरु आफै हल गर्न प्रेरित गर्छ, आम नेता कार्यकर्ताहरुलाई पनि विकासप्रति अग्रसर गराउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’’– अध्यक्ष श्रेष्ठले भन्नुभयो ।बर्षौदेखिको भेलबाढीले नाली पुरिएपछि बर्षातको समयमा बजार क्षेत्रमै बाढी पस्ने समस्या देखिएपछि उक्त सडकको मर्मत र नाली सफा गर्न श्रमदान गरिएको उहाँले बताउनुभयो ।

कुटो, कोदालो, गल, गैची, बेल्चा लगायतका सामाग्री सहित सडकको मर्मतमा सहभागी भएका एमालेका नेता तथा कार्यकर्ताहरुले करिब तीन श्रमदान गरेका थिए ।

नालीमा थुप्रिएको ढुङ्गा, माटो, र फोहोर हटाएर अबरुद्ध बनेको नालीलाई खुलाईएको एमाले जिल्ला सचिब बालकृष्ण सुवेदीले बताउनुभयो । उक्त ठाउँमा ढुंगा माटोले नाली पुरिएर अबरुद्ध हँुदा अर्थुङ्गे हुँदै आउने भेलबाढी बजारक्षेत्रमा पस्ने समस्या रहेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l