गलेश्वर ठुलो सल्लेरीलाई इको टुरीजमको रुपमा अघि बढाइने

  • ९ बैशाख २०७५, आईतवार
  • 1569 पटक पढिएको

म्याग्दी, ९ वैशाख ।  म्याग्दीको बेनीनगरपालिका ९ घतानमा अवस्थित गलेश्वर ठुलो सल्लेरी सामुदायिक वनमा पर्यापर्यटन (इको टुरिजम)को अवधारणा अघि सारिएको छ । ४० हेक्टर क्षेत्रफलमा फैलिएको सल्लेरी वनमा पर्यापर्यटनको संभावना बारे बेनी नगरपालिका र सामुदायिक वन उपभोक्ता समूहले संभाव्यता अध्ययन थालेको हो ।


जिल्ला सदरमुकाम बेनीदेखि तीन किलोमिटरको दुरीमा रहेको गलेश्वरको शिरमा रहेको ठुलो सल्लेरी वनमा विभिन्न किसिमका चराचुरुङीका साथै वन्यजन्तु समेत देख्न पाइने हुँदा पर्यापर्यटनको संभावना उच्च रहेको सरोकारवालाको निस्कर्ष छ । शनिबार काउलेगौडामा आयोजित गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको २१ औँ बार्षिक साधारणको अवसरमा बोल्ने वक्ताहरुले पनि इको टुरिजमको संभावनाको खोजीका विषयमा छलफल भएको थियो ।

 

समूहका अध्यक्ष पूण्य बहादुर चोखालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निमित्त जिल्ला वन अधिकृत राजकुमार ठाकुरले इको टुरिजमका लागि नगरपालिकाको चासो र स्थानीयको प्रतिबद्धताको संयोजन हुनुपर्ने बताए । ‘यहाँ जापानका दुई जना विशेषज्ञहरुले यसको संभाव्यताको अध्ययन गरिरहेको छ, वन्यजन्तु समेत पाइने भएकाले यसलाई इको टुरिजमको रुपमा विकास गर्न सकिन्छ’, उनले भने । साधारणसभाको अवसरमा बोल्ने वक्ताहरुले वनको संरक्षण, त्यसबाट हुने आम्दानी प्रक्रियागत रुपमा स्थानीयको आयमुलक र शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्ने विषयमा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष हिरा चोखालले गत आर्थिक बर्ष २०७३/०७४ मा ७ लाख रुपैयाँ आम्दानी भएको र पाँच लाख रुपैयाँ घुम्ती कोष मार्फत स्थानीयको आयस्तर उकास्ने क्षेत्रमा लगानी भएको जानकारी दिइन् । कार्यक्रममा, सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अध्यक्ष सीता गुरुङ, बेनी नगरपालिका वडा नं ९का कार्यबाहक वडाअध्यक्ष अमर बस्नेत, सल्लाहकारहरु यामबहादुर चोखाल, टिकानन्द सुवेदी, उपभोक्ताहरुको तर्फबाट चक्र केसी, तेजेन्द्र बानियाँ, दलित समुदायको तर्फबाट सम्मर बहादुर मिजार, शिवशक्ति वायो प्लान्ट काठमाडौँका केशबराज खनाल लगायतले सामुदायिक वनको विकास, त्यसबाट हुने आम्दानीको समुचित प्रयोगका बारेमा धारणा व्यक्त गरेका थिए ।

६ सय २ उपभोक्ता आबद्ध सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै ठुलो र चुस्त व्यवस्थापन भएको उपभोक्ता समूह भित्र पर्छ । सामुदायिक वनको आम्दानी समुदायकै लागी खर्च गरिएको समूहका अध्यक्ष चोखालले जानकारी दिए । अधिकांश उपभोक्ता उपस्थित उक्त कार्यक्रमको सञ्चालन सहसचिब रुद्र रेग्मीले गरेका थिए ।