जनयुद्धको भावना समेटीने गरि पार्टी एकता गर्न माओवादी केन्द्र बेनी नगरकमिटीको सुझाब

  • ८ बैशाख २०७५, शनिबार
  • 1547 पटक पढिएको

म्याग्दी, ८ वैशाख । नेकपा माओवादी केन्द्र , बेनी नगरकमिटीले एमाले र माओवादीबिचको पार्टी एकताको क्रममा जनयुद्धको भावनालाई समेटेर एकता गर्न सुझाब पठाएको छ । शनिवार बेनीमा सम्पन्न नगर कमिटी बैठकले दुई ठुला बामपन्थी दलहरु एक हुन लागेकोमा खुसी व्यक्त गर्दै नेपालमा पछिल्लो परिवर्तनको जग जनयुद्धको भावलाई समेटीने गरि पार्टी एकता गर्न पार्टी केन्द्रीय कमिटीलाई सुझाब पठाउने निर्णय गरेको हो ।


बेनी नगरकमिटीका अध्यक्ष शेर बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला संयोजक गोविन्द पौडेलले नेपालका सबै कम्युनिष्ट शक्तिहरु एकजुट हुने अभियान सहित एमाले र माओवादीबिच पार्टी एकता हुन लागेको बताउँदै जनयुद्धको मर्मलाई कुनैपनि हालतमा समेटीन जरुरी रहेको बताउनुभयो ।

मुलुकमा सरकारको स्थायीत्व र राजनितीक स्थिरताको लागि पनि एमाले र माओवादीबिच पार्टी एकता अपरिहार्य भएको उहाँको भनाई थियो । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ४ का अध्यक्ष सोमनाथ ढुंगनाले समेत मन्तव्य राख्नुभएको थियो । सो बैठकले जिल्लाको विकास निर्माण योजनाहरुलाई केन्द्रिय स्तरबाट आबश्यक बजेट माग गर्नको लागि योजना संकलन गर्न शेर बहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय विकास निर्माण समिती गठन समेत गरेको जनाएको छ ।