गोधूली सम्मानबाट म्याग्देली गायक भुजेल सम्मानीत

  • ८ बैशाख २०७५, शनिबार
  • 3813 पटक पढिएको

म्याग्दी, ८ वैशाख । म्याग्देली गायक राजन भुजेल सम्मानीत भएका छन् । गोधूली साहित्यिक प्रतिष्ठानले सातौं वार्षिकोत्सवका अवसरमा हाल काठमाण्डौमा बसोबास गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका गायक भुजेल लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो । प्रतिष्ठानले शुक्रबार गरेको वार्षिकोत्सव कार्यक्रममा कलाकार भुजेललाई नेपाली गितसंगीतको क्षेत्रमा निरन्तर लागेर उल्लेख्य योगदान दिएको भन्दै गोधुली संगीत सम्मानबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा भुजेल लगायतका सम्मानीत व्यक्तिहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’, साहित्यकार ललिता दोषी, साहित्यकार ई. राजेन्द्रप्रसाद पौडेल, कल्पना अधिकारी, भाषा साहित्यसेवी तथा समाजसेवी उर्मिला डंगोल, कलाकार राजन भुजेल विश्वकर्मा, राजेश मानन्धर, पत्रकार मोहन कार्की, समाजसेवी विरेन्द्र लकान्द्री र युवा गजलकार देव ‘सागर’ समेत सम्मानीत भएका छन् ।

सो अवसमार संस्थाले तीन जनालाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले प्रा.डा. उषा ठाकुरलाई गोधूली दीर्घ साहित्यसेवा, स्नेह पोखरेललाई गोधूली दीर्घ समाजसेवा र कलाकार गेहेन्द्रमान अमात्यलाई गोधूली दीर्घ कलासेवा अभिनन्दन गरेको हो । प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने नगद १० हजार नगद सहितको ओली–भद्र–गोधूली आदर्श आमा पुरस्कारबाट साहित्यकार तथा समाजसेवी बसुश्री पाण्डेलाई प्रदान गरेको छ । १० हजार राशीकै गोधूली तुल–सुन्दरमाया पुरस्कार समाजसेवी राधा भण्डारीलाई प्रदान गरेको छ । उनीहरुलाई कानुन, न्याय तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।